आज विश्व वातावरण दिवस, ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित मनाइँदै

आज विश्व वातावरण दिवस, ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित मनाइँदै

काठमाडौं : ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित बुधबार विश्व वातावरण दिवस मनाइँदै छ।

नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघले आह्वान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवस मनाइन्छ।

यो वर्ष दिवसलाई भूमि बचाउमा केन्द्रित गरिएको छ। संयुक्त राष्ट्रसंघले भूमि पुनःस्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोधात्मकतामा दिवसलाई केन्द्रित गरेको हो।

दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले  देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन्।

‘मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ’, उनले भनेका छन्।

उनले दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिएका छन्।

‘त्यसका लागि हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठूलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ’, गुटेरेसले भनेका छन्।

जेठ २३, २०८१ बुधबार ०८:०७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।