टी २० विश्वकप : बारम्बार क्याचमा चुक्दा नेदरल्यान्डसँग हार्यो नेपाल
काठमाडौँ : बारम्बार विकेट लिने मौकामा चुक्दा नेपाल आइसिसी टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ।
बलरहरूले बारम्बार विकेटको मौका निकाले पनि फिल्डर चुक्दा नेदरल्यान्डसको हार टल्यो। टस हारेर ब्याटिङ पाउँदा १०६ रनमात्र बनाए पनि कसिलो बलिङका आधारमा नेपाल खेलमा फर्किएको थियो।
तर क्याप्टेन रोहित पौडेलसहितका खेलाडी बारम्बार हातमा आइसकेको विकेट लिन समेत चुक्दा नेदरल्यान्डसले खेलको नतिजा आफ्नो पक्षमा पार्यो।
प्रारम्भमा नेपालको ब्याटिङ लाइन सम्हालिन सकेन। बलिङमा उत्रिदा फिल्डिङ सम्हालिन सकेन। नेपाली खेलाडीले पाएको विकेटको मौका गुमाइरहे।
अन्तिममा रोहितको हातैमा आएको बल खेर नगएको भए खेलको नतिजा अलग हुन सक्थ्यो। तर उनी क्याच लिन चुके। यो नै नेपालको दुर्भाग्य भयो।
गुमीसकेको विकेट जोगिएपछि पाएको मौका नेदरल्याण्डका ब्याटरले छाडेनन्। ओ’डाउडले ४८ बलमा ४ चौका र १ छक्कासहित ५४ रन बनाएर अविजित इनिङ खेलेर पुरै ओभर नखेली नतिजा आफ्नो पक्षमा पारे। १८.४ ओभरमा ६ विकेट जोगिदै नेपाल पराजित भयो।
नेपालका लागि सोमपाल, दिपेन्द्र सिंह ऐरी र अविनाशले समान १-१ विकेट लिएका थिए।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १ सय ६ रनको सामान्य योगफलमा समेटिएको थियो।नेपालका लागि कप्तान रोहितले ३७ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३५ रन बनाएका थिए।
नेदरल्याण्ड्सका लागि टिम प्रिन्गल र लोगन भ्यान बिकले समान ३ विकेट लिएका थिए।
जेठ २३, २०८१ बुधबार ०१:२५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।