वडाकाे सिफारिसमा ल्याइएका थिए २८ बालबालिका, प्रशासनलाई बेवास्ता गर्दा प्रहरी फन्दामा परे नाम्गेल

वडाकाे सिफारिसमा ल्याइएका थिए २८ बालबालिका, प्रशासनलाई बेवास्ता गर्दा प्रहरी फन्दामा परे नाम्गेल

सुर्खेत : २८ जना बालबालिकालाई गुम्बामा राखेर पढाउने भन्दै काठमाडौं लैजाने क्रममा ३६ वर्षीय नाम्गेल छिरिङ लामा साेमबार राति सुर्खेतबाट पक्राउ परे। हुम्लाको सिमकाेट गाउँपालिका -३ का लामाले हुम्ला र मुगुका ती बालबालिकालाई काठमाडौं लैजादैगर्दा सुर्खेत प्रहरीले मानव तस्करीको आशंकामा वीरेन्द्रनगर-११ काे तीनकुने चोकबाट नियन्त्रणमा लिएको थियाे। 

वडाकाे सिफारिसमा मात्र बालबालिका लिएकोहुँदा उनी प्रहरीकाे फन्दामा परेका हुन्। लामा आफै काठमाडौंकाे गुम्बामा उच्च शिक्षा अध्ययन गरेका व्यक्ति हुन्। उनलाई बालबालिकाका अभिभावकले पढाउनका लागि अनुराेध गरेपछि आफूले काठमाडौं लिन लागेकाे बताएका छन्। तीनदिन अगाडि मुगुबाट बालबालिकालाई हिंडाइएकाे थियाे।

प्रहरीसँगकाे प्रारम्भिक बयानमा उनले भनेका छन्-`म हुम्लामै जन्मे हुर्केको मान्छे। गुम्बामै बसेर अध्ययन गरें। आफ्नो ठाउँका बालबालिकाकाे भविष्यकाे लागि लिन लागेकाे थिएँ। वडाले पनि लिनका लागि अनुमति र सिफारिस दिएपछि ल्याएकाे हुँ। अन्य मनसाय हाेइन।´

लामाले प्रक्रिया नपुर्याई बालबालिका लैजादै गरेको पाइएपछि पक्राउ गरि अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी बिरेन्द्र वीर विश्वकर्माले बताए।

'उहाँले वडाकाे सिफारिसमा मात्रै बालबालिका बाहिर लिन लाग्नुभएको रहेछ। न त्यहाँ पालिकाकाे सम्बन्धित शाखा, जिल्ला प्रशासनकाे अनुमति र अभिभावककाे मञ्जुरीनामा केही छैन, डीएसपी विश्वकर्माले भने, यस घटनाकाे विषयमा थप अनुसन्धान गरिरहेका छाैं। बालबालिकालाई अभिभावकको जिम्मा छाेड्नेगरी तयारी थालेका छाैं।'

उनका अनुसार २८ जनामध्ये १६ बालबालिका र १२ बालक छन्। २६ जनाकाे वडाले सिफारिस गरेकाे छ भने दुई जनाकाे सिफारिस छैन।

 

२८ जनामध्ये १० जना दलित समुदायका बालबालिका, १८ जना जनजाति र क्षेत्री समुदायका छन्। उनीहरू हिन्दु धर्मका भएपनि राम्रो  पढाइलेखाइकाे सपनामा बाैद्द हुने गरेका छन्। २८ जनामध्ये पाँच जना हुम्लाकाे खार्पुनाथका, पाँच जना अदानचुलीका, पाँच जना सर्केगाडका ११ जना मुगुकाे साेरु गाउँपालिकाका र दुई जना जुम्लाका रहेका छन्। 

प्रहरीको नियन्त्रणपछि भने उनीहरू सबै सुर्खेतस्थित आवाज संस्थाकाे सेफ हाउसमा बसेका छन्। चार वर्षदेखि १३ वर्षसम्मका बालबालिका रहेकाे प्रहरीकाे अभिलेखमा जनाएको छ।

पक्राउ परेका लामाले बैद्धलगायतका उपत्यकामा रहेका गुम्बाहरूमा ती बालबालिकालाई परिवारको सहमतिमै राखेर उनीहरुको पालनपोषण र शिक्षा-दीक्षा दिने हेतुले काठमाडौं लैजान लागेको भएपनि बालबालिका सम्बन्धी ऐन २०७५ ले त्यसलाई बञ्चित गरेका छन्। यदी संरक्षणको आवश्यक भए सम्बन्धित निकायकाे अनुमति र अभिभावककाे मञ्जुरीनामा गर्नुपर्छ। तर, लामाले वडाकाे सिफारिस बाहेक अन्य कुनैपनि कानुनी प्रक्रिया पूरा गरेका छैनन्। 

परिवारले भने आफ्नै सहमतिमा बालबालिका पठाएको प्रहरी समक्ष स्वीकारेका छन्।

पछिल्ला केही वर्षयता कर्णालीबाट बालबालिका हराउने क्रम बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म मात्रै ४२ बालक र ५४ बालिका कर्णालीबाट हराएका छन्। जसमध्ये १३ बालक र ११ बालिका भेटिएका छैनन्। 

त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा कर्णालीका १० जिल्लाबाट ४१४ जना बालबालिका हराएका छन्। जसअनुसार सुर्खेतका ५६ बालक १२२ बालिका, दैलेखका ११ बालक ३६ बालिका, जाजरकोटका १० बालक १८ बालिका, सल्यानका १५ बालक २२ बालिका, रुकुम पश्चिमका १२ बालक १४ बालिका, कालिकोटका १३ बालक १३ बालिका, हुम्लाका ५ बालक ३ बालिका, मुगुका १४ बालक ६ बालिका, डोल्पाका २ बालक ४ बालिका, जुम्लाका १४ बालक २४ बालिका हराएको तथ्यांकमा उल्लेख छ।

४१४ जना बालबालिका मध्ये १३२ बालक र २४५ बालिका प्रहरीको सहयोगमा भेटिए। २० बालक र १७ बालिका भने अझै फेला परेका छैनन्।
आर्थिक वर्ष २०७८/७९ मा १५६ बालक र २५५ बालिका हराए। १३७ बालक र २४० बालिका भेटिए। तर, १९ बालक र १५ बालिका अझै भेटिएका छैनन्। त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा १३८ बालक र १७१ बालिका गरी ३०९ जना हराए। १३१ बालक र १५७ बालिका भेटिए पनि ७ बालक र १४ बालिका बेपत्ता रहेका छन्।

आर्थिक वर्ष २०७६/७७ मा १२६ बालक र १४५ बालिका हराए। १२४ बालक, १४५ बालिका भेटिए तर ३ बालक र ४ बालिका भेटिएनन्।

यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १७३ बालक २०१ बालिका हराए। १७० बालक र १९५ जना बालिका भेटिए। ३ बालक र ६ बालिका अझै बेपत्ता छन्। आर्थिक वर्ष २०७४/७५ मा १८० बालक र १४३ बालिका हराएका थिए। जसमध्ये ५५ बालक र ४९ बालिका गरी १०४ जना फेला परेनन्। आर्थिक वर्ष २०७३/७४ मा १५८ बालक र १२९ बालिका हराएका थिए। तीमध्ये ५१ बालक र ३६ बालिका अझै फेला परेका छैनन्।

कतिपयलाई प्रहरीले उद्धार गरे पनि अधिकांश बालबालिका भने नभेटिएको प्रहरीको तथ्याङ्कले देखाएको छ।

जेठ २२, २०८१ मंगलबार २१:४९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।