तेस्रोपटक लोकसभामा विजयी भएका मोदी, जसको घट्दैछ लोकप्रियताको ग्राफ

तेस्रोपटक लोकसभामा विजयी भएका मोदी, जसको घट्दैछ लोकप्रियताको ग्राफ

काठमाडौं : भारतीय लोकसभा निर्वाचन-२०२४ को पछिल्लो मतपरिमाण अनुसार सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) अगाडि देखिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपा पछिल्लो २४० सिटको मत परिणाम सार्वजनिक हुँदासम्म १२२ सिटमा जित निकालेको छ। भाजपाका केही चर्चित अनुहारहरूले जित निकाल्ने क्रम जारी छ। 

यसैबीच, उत्तर प्रदेशको वाराणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक लोकसभाका लागि विजयी भए। तर, अघिल्ला दुई निर्वाचनको तुलनामा यसपटक उनको मतान्तर घटेको छ। यसपटक उनी सबैभन्दा कम मतान्तरले विजयी भएका हुन्।

आजै आएको मतपरिमाण अनुसार उनले प्रतिस्पर्धी राष्ट्रिय भारतीय कांग्रेसका उमेदवार अजय रायलाई डेढ लाख मतको अन्तरले हराए।

मोदीले यसपटक ६ लाख ११ हजार ४३९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका रायले ४ लाख ५९ हजार ८४ मत प्राप्त गरेका छन्। यसपटकको लोकसभा निर्वाचनमा मोदीले रायलाई एक लाख ५२ हजार ३५५ मतले हराएका हुन्। 

तर, यसअघि सन् २०१९ मा भएको निर्वाचनमा मोदीले ६ लाख ७४ हजार ६६४ मत प्राप्त गरेका थिए। जबकि त्यस निर्वाचनमा कांग्रेसका रायले १ लाख ५२ हजार ५४८ मत मात्र पाएका थिए। 

मोदीले यसपटक पाएको मतलाई हेर्दै धेरैले उनको लोकप्रियताको ग्राफ घटिरहेको टिप्पणी गरेका छन्। कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले लोकसभाको निर्वाचनमार्फत मतदाताले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई अस्वीकार गरेको बताए। गान्धीले पत्रकार सम्मेलन गरेर यो निर्वाचन देशको संविधान बचाउने लडाई रहेको र देशको सबैभन्दा गरिब र सबैभन्दा कमजोर वर्गले संविधान बचाएको टिप्पणी गरे।

निर्वाचनको मतगणनाले प्रधानमन्त्री मोदीको पार्टी भाजपाको एकल बहुमत नआउने तर गठबन्धन सरकार बनाउन आवश्यक सङ्ख्या कटाउने देखाइरहेको छ।

जेठ २२, २०८१ मंगलबार २१:०८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।