भाजपाको दाबी : गठबन्धनको तर्फबाट तेस्रो पटक पनि मोदी नै प्रधानमन्त्री

भाजपाको दाबी : गठबन्धनको तर्फबाट तेस्रो पटक पनि मोदी नै प्रधानमन्त्री

काठमाडौँ : भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले तेस्रो पटक पनि नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने घोषणा गरेका छन्। भाजपाले सरकार बनाउन आवश्यक बहुमत नल्याए भाजपासहितको एनडिए गठबन्धनले सहज बहुमत ल्याउने पक्का भएपछि आयोजित सभामा उनले तेस्रो पटक पनि गठबन्धनको तर्फबाट मोदी नै प्रधानमन्त्री हुने बताए।

उनले तेस्रो पटक पनि जनादेश भाजपाको पक्षमा आएको दाबी गर्दै विपक्षी गठबन्धन पराजित भएको भन्दै धन्यवाद दिएका थिए। भाजपाको केन्द्रीय कार्यालयमा आयोजित सभाको सम्बोधनमा नड्डाले भाजपाभन्दा बढी एनडिएको नाम लिएका थिए। उनले जनमत एनडिएको पक्षमा आएको भन्दै गठबन्धन एक रहेको दाबी गरेका थिए।

सरकार बनाउन २ सय ७४ सिट आवश्यक भए पनि भाजपाले २ सय ३९ मा अग्रता लिइरहेको छ। सरकार बनाउन टिडिपी र जेडियु लगायतको समर्थन आवश्यक पर्छ। एनडिएमा रहेका सबै दलको सिट जोड्दा २ सय ९० सिटमा अग्रता लिइरहेको छ। मोदीले चन्द्रबाबु नायडु र नितिश कुमारको नाम लिँदै निर्वाचनमा राम्रो नतिजा आएको भन्दै प्रशंसा गरेका थिए।

उता कांग्रेससहितको इन्डिया गठबन्धनले २ सय ३५ सिटमा अग्रता लिइरहेको छ। कांग्रेस एक्लैले यस पटक एक सय सिटमा अग्रता लिइरहेको छ। मंगलबारको सभामा सम्बोधनकोक्रममा मोदीले कांग्रेस पत्तासाफ भएको भन्दै कटाक्ष गरेका थिए।

जेठ २२, २०८१ मंगलबार २०:५७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।