संसदको दृश्य : उपसभामुख र सांसदको हँसिमजाक, बजेट छलफल सुन्ने रित्ता कुर्सी

संसदको दृश्य : उपसभामुख र सांसदको हँसिमजाक, बजेट छलफल सुन्ने रित्ता कुर्सी

काठमाडौँ : आगामी आर्थिक वर्षको बजेटमाथि संसद्मा चलिरहेको छलफलकाक्रममा आफ्ना धारणा राख्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रोष्ट्रम उक्लिए। उनले तल हेरे। बैठकमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेपछि उनी नआई बजेटमा भाग नलिने अडान लिए।

अर्थमन्त्री पुन राष्ट्रियसभा बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिन गएका थिए। बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले ‘मन्त्रीज्यू केही बेरमा आउनुहुन्छ माननीयज्यू अगाडि बढ्नुस्’ भने पनि उनी बोल्न मानेनन्।

लिङ्देनले आफूले पाएको थोरै समय अर्थमन्त्री नआउँदै सकिए के गर्ने? भनेर प्रश्न गरे।

'उहाँ (अर्थमन्त्री) आउनुभएपछि सुरु गर्छु, म उभिन सक्छु। एकछिन ब्रेक गरे पनि हुन्छ' लिङ्देनले थपे। 

तर, उपसभामुख रानाले बैठक स्थगित नगर्ने भनिन्।

'ब्रेक चाहिँ नगरौँ होला, अगाडि बढ्दै गर्नुहोला। अर्थसम्बन्धी टुक्का भन्दै जानुहोला, कोटेसनहरू भन्दै जानुहोला।'

त्यसपछि संसद् हलमा हाँसो गुन्जियो। केही समय सांसदहरू गलल हाँसिरहे। त्यसपछि एमाले सांसद दयालबहादुर शाही उठे र नियमापत्ति गरे। लिङ्देनले शाहीलाई देखाउँदै ’उताबाट आउने भयो टुक्का’ भनेर व्यङ्ग्य गरे। त्यसपछि झन् हाँसो थपियो। 

तब शाहीले भने, 'यो संसद् हो कि दोहोरी? बोल्न गएपछि सरासर बोल्नुपर्छ, दोहोरी खेल्नुहुँदैन।' 

त्यसपछि सभामुख देवराज घिमिरे आफ्नो आसनमा फर्किए र टेबुल ठटाउँदै गरेका राप्रपा सांसदतर्फबाट प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई बोल्न दिँदै अरूलाई बस्न आग्रह गरे। शाहीले एमालेको नियामापत्तीलाई  प्रतिवाद गरे। त्यसपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भयो। 

सभामुखको रूपमा इन्दिरा राना मगरले सभा सञ्चालन गर्दैगर्दा संसद्मा हाँसीमजाक भएको यो पहिलो पटक भने होइन। यसअघि आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धको छलफलमा पनि राना र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच ख्यालठट्टा चलेको थियो।  

गएको जेठ १२ गते पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओ खस्कँदै गएको टिप्पणी गरेका थिए। संसद्मा हुने बहस, छलफल, शब्द चयनहरू स्तरहीन, मर्यादाहीन भएको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए।

हुन पनि अहिले संसद्को दृश्य यस्तै देखिन्छ। प्रतिनिधि सभा बैठकमा यतिबेला आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल चलिरहेको छ। तर, संसद्मा सांसदहरूको सङ्ख्या पातलो छ।

संसद्को बैठक सुरु हुँदा सांसदहरूको उपस्थिति बाक्लै हुन्छ। छलफल अगाडि बढ्दैजाँदा कुर्सी रित्तो हुँदै जान्छ। केही सांसद आफ्नो बोल्ने पालो कुर्छन्, बोल्छन् अनि बाहिरिएर कुरेर बसेका मिडियाको क्यामरा अगाडि आदर्श छाँटेर बाटो लागेछन्।  

जेठ २२, २०८१ मंगलबार २०:००:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।