भारतीय निर्वाचन : गरिब र कमजोर मतदाताले लोकतन्त्र जोगाएको राहुल गान्धीको टिप्पणी

भारतीय निर्वाचन : गरिब र कमजोर मतदाताले लोकतन्त्र जोगाएको राहुल गान्धीको टिप्पणी

एजेन्सी : कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले लोकसभाको निर्वाचनमार्फत मतदाताले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई अस्वीकार गरेको बताए। निर्वाचनको मतगणनाको परिणामले भारतीय जनता पार्टीको एकल बहुमत नआउने तर गठबन्धन सरकार बनाउन आवश्यक सङ्ख्या कटाउने देखाइरहेको छ।

यहीबीचमा गान्धीले पत्रकार सम्मेलन गरेर यो निर्वाचन देशको संविधान बचाउने लडाई रहेको र देशको सबैभन्दा गरिब र सबैभन्दा कमजोर वर्गले संविधान बचाएको टिप्पणी गरे।

दिल्ली लगायतका सहरी क्षेत्रमा इन्डिया गठबन्धनले सोचे अनुसारको मत पाएनन्। तर यूपी लगायतका प्रदेशमा गठबन्धन भाजपाभन्दा अगाडि देखिएका छन्।

कांग्रेस र इन्डिया गठबन्धनले कुनै एक राजनीतिक दलको विरुद्धमा निर्वाचनमा प्रतिस्पर्धा नगरेको बताउँदै उनले भाजपासँगै सरकारी संयन्त्रविरुद्ध समेत प्रतिस्पर्धा गर्नुपरेको बताए।

निर्वाचनको समयमा मोदी र अमित शाहले विपक्षीलाई डराउने अनि धम्काउने काम गरेको, संवैधानिक संस्था कब्जा गरेर दुरुपयोग गरेको आरोप लगाए।

गान्धी अगाडि कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले पत्रकार सम्मेलनमा निर्वाचन मोदी र जनताबीचको प्रतिस्पर्धा रहेको र यसमा जनताको जीत भएको बताएका थिए।

उनले पार्टीले विनम्रताका साथ जनमत स्वीकार गर्ने बताएका थिए। उनले जनमत मोदीको विपक्षमा आएको र पुन मोदीको नेतृत्वमा सरकार बनेमा लोकतन्त्रमाथि आक्रमण बढ्ने टिप्पणी गरेका थिए।

जेठ २२, २०८१ मंगलबार १९:४२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।