जसले काठमाडौंबाट पैदल हिँडेर ५७ दिनमा सगरमाथाको सफल आरोहण गरे

जसले काठमाडौंबाट पैदल हिँडेर ५७ दिनमा सगरमाथाको सफल आरोहण गरे

काठमाडौं : घरबाट पैदल निस्केर ५७ दिनमा सगरमाथा शिखरको सफल आरोहण गरेका राजेश लामा सम्मानित भएका छन्। 

नर्थ फेस नेपालले उनलाई मंगलबार काठमाडौंमा सम्मान गरेको हो। आरोहीहरू सगरमाथा आधार शिविरसम्म पुग्नुअघि निकै धेरै सवारीसाधन प्रयोग गर्छन्। लुक्लासम्म पुग्न पनि हवाई सेवा उपयोग गर्छन्। तर, लामाले परम्परागत आरोहणभन्दा फरक तवरले सर्वोच्च शिखरको यात्रा तय गरेका हुन्।

राजेश लामाको उपलब्धिले हिमालय पर्वतारोहणको समृद्ध इतिहास मात्र नभई मानिसको दृढ संकल्प र साहसिक मनोभावको प्रमाणको रूपमा पनि काम गरेको नर्थ फेस नेपालले जनाएको छ। 

काठमाडौंका लामा घरबाट निस्केर सगरमाथाको चुचुरोसम्म पैदल नै गएका हुन्। उनको यात्रा ५७ दिनमा पुरा भएको हो। चैत १९ गते सुरू गरेको यात्राबारे लामाले जीवनको एकदमै राम्रो र बिर्सन नसक्ने भएको बताए। 

उनले भने, ‘मेरो सगरमाथा चढ्ने सोच त थियो तर अरू भन्दा फरक तरिकाले गर्छु भन्ने सोचेको थिएँ। हाम्रो देश यस्तो राम्रो छ, मैले मेरो यो यात्रामा धेरै नै थरिका रङ र मौसम महसुस गर्न पाए। यो मेरो जीवनको सबैभन्दा लामो र ठूलो यात्रा हो।’

पैदल यात्रा सुरुवातको १५ दिनको चुनौतीपूर्ण भूभाग पार गरेर वैशाख ३ मा उनी लुक्ला पुगे। उनले रेन्जो ला (५,३६० मिटर), चो ला (५,४२० मिटर) को मार्ग पछ्याए, जुन मनमोहक दृश्य र आवश्यक अवस्थाका लागि परिचित छ। 

वैशाख १५ मा लबुचे शिखर पुगे। जेठ २ गते लामा र उनको टोली एभरेष्ट बेस क्याम्पबाट अन्तिम गन्तव्यतिर प्रस्थान गरे। 

पाँच चुनौतीपूर्ण दिनपछि उनी जेठ ७ मा सगरमाथाको चुचुरोमा पुगेका हुन्। जेठ ११ मा उनको यात्रा सगरमाथा आधार शिविरमा सकिएको हो। 

जेठ २२, २०८१ मंगलबार १८:४९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।