मुगु र हुम्लाबाट ल्याइएका २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रणमा, मानव तस्करीको आशंका

मुगु र हुम्लाबाट ल्याइएका २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रणमा, मानव तस्करीको आशंका

काठमाडौं : कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं ल्याउँदैगर्दा मानव तस्करीको आशंकामा सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये १६ जना बालिका र १२ जना बालक रहेका छन्।   

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट बालबालिकासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो।

प्रहरी नियन्त्रणमा परेका व्यक्ति नाम्गेल छिरिङ हुन्। उनले बैद्धलगायतका उपत्यकामा रहेका गुम्बाहरूमा ती बालबालिकालाई परिवारको सहमतिमै राखेर उनीहरुको पालनपोषण र शिक्षा-दिक्षा दिने हेतुले काठमाडौं लैजान लागेको दाबी गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र वीर विश्वकर्माले बताए। 

डीएसपी विश्वकर्माले भने, ‘बालबालिकालाई बैद्धलगायतका काठमाडौंका गुम्बाहरूमा राखेर पढाउने, पालनपोषण गर्ने भनेर लैजान लागेको ती व्यक्तिले देखाएको कागजमा उल्लेख छ। तर, हामीलाई शंका लागेरै नियन्त्रणमा लिएर थप अनुसन्धान र परिवारसँग सोधपुछ गरिरहेका छौं।’
 
हालसम्मको अनुसन्धानको क्रममा मानव बेचबिखन भन्दा पनि आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई ललाइफकाइ गरी ती बालबालिकाको जिम्मेवारी लिने भन्दै काठमाडौं लैजान लागिएको खुल्न आएको विश्वकर्माले जानकारी दिए। तर, शंकास्पद देखिएकाले थप अनुसन्धान गरिरहेको भनाई उनको छ। 

‘हुम्ला र मुगुका २८ जना बालबालिकालाई परिवारका सदस्यकै सहमतिमा पठाइएको देखिएको छ। दुई बाहेक २६ वटा स्थानीय तहका वडा कार्यालयले दिएको निवेदन उक्त व्यक्तिसँग छ तर आवश्यक थप कागजपत्र नाम्गेल छिरिङसँग छैन। उनीहरुलाई नियन्त्रणमा लिएपछि परिवारका सदस्यहरूले सहमतिमै पठाएको भन्दै लगातार फोन गरिरहेका छन्। तर, हामी बालबालिकाबारे थप अनुसन्धान गरिरहेका छौं’ विश्वकर्माले भने।

तर, डीएसपी विश्वकर्माले ती  बालबालिका मुगु र हुम्लाका भएपनि कुन स्थानीय तहका भनेर खुलाएनन्। प्रहरीले नियन्त्रणमा लिइएका २८ जना बालबालिकालाई सुर्खेतकै आवाज भन्ने संस्थामा राखेको जनाएको छ। 

जेठ २२, २०८१ मंगलबार १५:५३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।