भारतमा भाजपाको बहुमत आउने सम्भावना कम, सरकार बनाउन गठबन्धको सहयोग चाहिने

भारतमा भाजपाको बहुमत आउने सम्भावना कम, सरकार बनाउन गठबन्धको सहयोग चाहिने

काठमाडौँ : भारतीय लोक सभाको निर्वाचनमा सत्ताधारी भारतीय जनता पार्टी बहुमतभन्दा निकै तल देखिएको छ। तर भाजपाले बनाएको गठबन्धन भने बहुमत निकट देखिएको छ। भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले २ सय ४१ सिटमा अगाडि देखिएको छ। भारतीय नेशनल कांग्रेस ९८ सिटमा अगाडि देखिएको छ।

निर्वाचनको प्रचारमा भाजपाले चार सय बढी सिट जित्ने दाबी गरिरहेको थियो। एक्जिट पोलहरूमा समेत एनडिएले चार सय एक सिटसम्म पाउनसक्ने आकलन सार्वजनिक भएको थियो। तर न एक्जिट पोलको अनुमान मिल्यो न त भाजपाको दाबी।

भाजपाको गठबन्धन रहेको एनडिएमा रहेका दलहरू जोड्दा भने सरकार बनाउन आवश्यक सिट जित्नसक्ने देखिन्छ। एनडिए गठबन्धनमा रहेका दलहरूले २ सय ९८ सिटमा अगाडि देखिएको र कांग्रेसको गठबन्धन इन्डियामा रहेका दलहरू २ सय २७ सिटमा अगाडि देखिन्छ। १८ सिटमा अन्य उम्मेदवारहरू अगाडि देखिन्छ।

बहुमतका लागि २ सय ७२ आवश्यक पर्छ। इन्डिया गठबन्धनले आफ्नो गठबन्धनमा रहेका दलहरूको २ सय ९५ सिट आउने दाबी गरिरहेका छन्। मत गणनाको प्रारम्भिक गणनाहरू सार्वजनिक भइरहेको बेलामा कांग्रेसको कार्यालयहरूमा उत्सव मनाउन सुरु भइसकेको छ।

जेठ २२, २०८१ मंगलबार १५:२५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।