अर्थमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

अर्थमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : अर्थमन्त्री उपस्थित नभएपछि प्रनिनिधि सभाको बैठक स्थगित भएको छ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्री वर्षमान पुन नआई आफ्नो भनाइ नराख्ने भनेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल भइरहेको थियो।

सभामुख घिमिरेले बैठक स्थगित गर्नुअघि सभामुखको आसनमा उपसभामुख इन्दिरा राना थिइन्। उनले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा गएको जानकारी गराएपछि लिङ्देनले अर्थमन्त्री आएपछि मात्र आफूले बोल्ने भन्दै ब्रेक गर्न अनुरोध गरेका थिए।

उनले भने, ‘अर्थमन्त्री नै चाहिन्छ नि! खानेपानीमन्त्रीले म सक्छु भन्नुभयो भने ठीक छ। अर्थमन्त्री आएपछि सुरू गरौं अहिलेलाई ब्रेक गरौँ।’

लिङ्देन उठेर गएपछि सभामुख घिमिरे आएर अर्थमन्त्री राष्ट्रिय सभामा रहेको भन्दै १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

जेठ २२, २०८१ मंगलबार १४:३५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।