'सच्चा देश नेपाली क्रिकेट टिममा मात्रै छ, किनकी त्यहाँ यादव, झा, पौडेल सबै मिलेर खेलिरहेका छन्'

'सच्चा देश नेपाली क्रिकेट टिममा मात्रै छ, किनकी त्यहाँ यादव, झा, पौडेल सबै मिलेर खेलिरहेका छन्'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसदभित्रै देश नभेटिएको आरोप लगाएका छन्। उनले सदनमा एकले अर्कालाई सिद्धयाउने प्रयत्नमा लागेको भन्दै सदनभित्र भन्दा राष्ट्रिय क्रिकेट टोलीमा मिलेको देश पाइने व्यङ्ग्य गरे।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले अमेरिकन एक लेखकले ‘डिलिङ विथ डिलेमा’ भन्ने पुस्तकमा लेखेको राष्ट्र उग्रवाद र देशप्रेमीको प्रसंगलाई उल्लेख गर्दै सदनमा दलहरूबीच देखिएको टकरावलाई व्यङ्ग्यात्मक रुपमा प्रहार गरे। कर्मचारीदेखि निजी क्षेत्रसम्म कतै उत्साह नभेटिएको उनको भनाइ छ। 

उनले भने, ‘हामी उग्र राष्ट्रवादले भन्दा पनि कठोर देशप्रेमले देश बनाऔं भन्छौं। राष्ट्रवादले जे छ सबै ठिक छ भन्छ, कठोर देशप्रेमले जे गलत छ त्यसलाई सुधार्नुपर्छ भन्छ। अहिले कर्मचारीको उत्साहमा देश खोज्न जाँदा देश भेटिँदैन। निजी क्षेत्रको लगानीमा देश भेटिँदैन। बजारमा हेर्न जाँदा देश भेटिन गाह्रो छ। सदनमा त झनै गाह्रो छ। किनकि यहाँ सबैले सबैलाई सिद्धयाउने प्रयासमा छन्।’

यस्तै, सांसद झाले एक दशकपछि आज टी–२० विश्वकप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय टोलीलाई बधाई र जितको शुभकामना दिँदै सच्चा देश आजको अवस्थामा राष्ट्रिय टिमभित्र मात्रै रहेको जिकिर गरे। 

‘आज विश्वकप खेल्दै गरेको राष्ट्रिय टोलीभित्र देश भेटिन्छ। त्यहाँ देशको लागि खेल्न फर्किएको सोमपाल कामीलाई देशले स्वागत गर्छ र टोलीले खेल्न दिन्छ। यो घुम्दै आयो र टोलीमा पर्यो भनेर खिसिट्युरी गर्दैन। त्यहाँ हेर्नुहोस् यादव, झा, पौडेल सबै साथमा मिलेर खेलिरहेका छन्। त्यसैले आज देश खोज्ने हो भने क्रिकेट टोलीमा पाउँछौँ,’ सांसद झाले भने। 

आज सत्ता समीकरणमा रहेको रास्वपा सांसदहरूले राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका थिए। टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा रास्वपाका १२ जना सांसदहरू  जर्सी लगाएरै बैठकमा सहभागी बनेका हुन्।  

जेठ २२, २०८१ मंगलबार १४:२२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।