अध्यक्षको आलोचना गरेपछि बालेनलाई योगेशको काउन्टर, ‘ओलीलाई गाली गर्नु आकाशमा फर्केर थुक्नु हो’

अध्यक्षको आलोचना गरेपछि बालेनलाई योगेशको काउन्टर, ‘ओलीलाई गाली गर्नु आकाशमा फर्केर थुक्नु हो’

काठमाडौं : अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेपछि एमाले सांसद् योगेश भट्टराई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)माथि खनिएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद् भट्राईले काठमाडौं महानगरका प्रमुख शाहले संयमता गुमाउँदै गएको तर्क गरे।

‘काठमाडौं महानगरपालिकाका प्रमुखले संयता गुमाउँदै जानुभएको छ। यो राजधानी हो। यहाँको जनप्रतिनिधिले यहाँको सभ्यताको प्रतिनिधित्व गर्छ। नेपालको सभ्यताको प्रतिनिधित्व गर्छ। हाम्रो ऋषिमुनिहरूले बनाएको सभ्यता छ, बुद्धले बनाएको सभ्यता छ। आज त्यो सभ्यतामाथि धावा बोलिँदैछ।’

भट्टराईले २०५४ सालमा केशव स्थापित हुँदा र २०७४ को निर्वाचनमा विद्यासुन्दर शाक्य काठमाडौंको मेयर हुँदा धेरै सुधारका काम गरेको दाबी गरे।

आफूहरू काठमाडौं महानगरका प्रमुखलाई सहयोग गर्न तयार रहेको भन्दै भट्टराईले काठमाडौंलाई चाहिएको ल्यान्डफिल्ड साइट एमालेको सरकारको पालामा खोजेको स्मरण गरे।

काठमाडौंलाई सुन्दर बनाउन आफ्ना योजनाहरू लिएर आउन आग्रह गर्दै उनले चाहिएको बजेट संघीय सरकारले दिने बताए।

‘तपाईंका योजना के छन् आउनुहोस् हामी सँगसँगै काम गरौं। तर उत्तेजना फैलाएर, उश्रृंखल गतिविधि गरेर। तपाईंमार्फत लाखौं युवाहरुले यो देशको भविष्य खोजका छन्। तर, पछिल्लो समय तपाईं जसरी जाँदै हुनुहुन्छ, ती युवाहरूको सपनामाथि तपाईंले धोका दिँदै हुनुहुन्छ, मुलुकलाई धोका दिँदै हुनुहुन्छ। यस ढंगले बिल्कुलै अगाडि नबढ्न आग्रह गर्न चाहन्छु।’

जेल बसेका र लोकतान्त्रिक आन्दोलनका लागि लडेका नेताहरूमाथि गालीगलौजमा नउत्रन आग्रह गर्दै उनले आफूहरूले लडेर ल्याएको व्यवस्था बापत काठमाडौंको प्रमुख बनेको तर्क गरे।

उनले भने, ‘नेताहरू जेल बसेको विषयलाई तपाईंले मजाकले उडाउनुभो, हामीलाई दुःख लाग्या छन्।’

इतिहास र संस्कृतिको भर्त्सना गर्नेहरू देशभक्त हुनै नसक्ने भन्दै भट्टराईले जेल बसेका र पुराना नेताहरूको बदनाम गर्नु भनेकै आमाको अस्मितामाथि प्रश्न उठाउनु रहेको तर्क गरे।

‘एमाले र एमाले नेतृत्वमाथि गाली गर्नु भनेको आकाशमाथि फर्केर थुक्नुजस्तै हो,’ उनले थपे, ‘बालेनजीले यो बुझ्नु जरुरी छ।’

काठमाडौंजस्तो सभ्यताको केन्द्रमा आफूहरुले त्यस्तै जनप्रतिनिधि चाहेको उनले बताए।

जेठ २२, २०८१ मंगलबार १४:०५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।