विवादास्पद पर्वतारोही पुर्जाको विषय संसदमा, नेपाल प्रवेशमै बन्देज लगाउन माग

काठमाडौं : दोहोरो नागरिकता र आगलागी जोडिएका विवादास्पद पर्वतारोही निर्मल पुर्जालाई नेपाल प्रवेशमा बन्देज लगाउन माग गरेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद् राजेन्द्र बजगाईंले व्यावसायिक पर्वतारोही तथा पूर्व मिस फिनल्यान्ड लोट्टा हिन्त्समाथि यौन दुर्व्यवहारदेखि बलात्कारसम्मको प्रयास गरेको आरोप रहेको, सगरमाथा चढ्ने डोरी काटेको भनेर अफवाह फैलाएको भन्दै उनलाई नेपाल प्रवेशमा बन्देज लगाउन माग गरेका हुन्।
उनले भनेका छन्, ‘जुन ३ मा न्युयोर्क टाइम्सले लोटा हिन्त्स भन्ने फिनिस्ड माउन्टेनियरको बारेमा, निर्मल पुर्जा निम्स दाइले सेक्सुअल ह्यारेसमेन्ट गर्यो भनेर छापिएको छ। यो समाचार नेपालका लागि असाध्यै नराम्रो समाचार हो। उनी कहिले डोरी काट्यो भनेर नेपालको बदनाम गरिरहन्छन्, कहिले नेपाली नागरिकतामा हिमाल चढिरहन्छन्। पछि आफ्नो नागरिकता सरेन्डर गर्छन्। यस्ता व्यक्तिलाई नेपालको सरकारले अथवा पर्यटन मन्त्रालयले नेपाल आउन बन्देज गर्नुपर्यो।’
द न्युयोर्क टाइम्समा प्रकाशित खोजमूलक समाचारमा उनले व्यावसायिक पर्वतारोही तथा पूर्व मिस फिनल्यान्ड लोट्टा हिन्त्सलाई यौन दुर्व्यवहारदेखि बलात्कारको प्रयाससम्म गरेको उल्लेख छ।
पुर्जाले काठमाडौंको द मेरियटमा रहेको आफ्नो स्विट रुम र आरोहणका क्रममा सगरमाथाको बेसक्याम्पको टेन्टमा समेत यौन दुर्व्यवहार गरेको समाचारमा लेखिएको छ। हिन्त्सले आफ्नो आत्मकथामा ‘एक धेरै प्रसिद्ध पुरुष आरोही’ले यौन दुर्व्यवहार गरेको उल्लेख गरे पनि नाम उल्लेख गरेकी थिइनन्।
२०२३ मार्चमा काठमाडौंमा उनको होटेल सुइटमा भएको एउटा व्यावसायिक छलफलको क्रममा त्यस व्यक्तिले हिन्त्ससँग यौन दुर्व्यवहार गरेको उल्लेख छ।
द न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा भने हिन्त्साले आफ्नो अनुभव किताबमा वर्णन गरेभन्दा बढी त्रासपूर्ण रहेको भन्दै ती व्यक्ति निम्स दाइको रूपमा परिचित निर्मल पुर्जा रहेको खुलाएकी छन्।
पुर्जाले बेडरुममा लगेको, अनुमतिविना चुम्बन गरेको, सर्ट, ट्रेकिङ सर्ट फुकालेर ब्रा फुकाल्न खोजेको न्युयोर्क टाइम्समा उल्लेख छ।
द टाइम्ससँगको अन्तर्वार्तामा, हिन्त्सा र पुर्जाको कम्पनीकी अर्की एक पूर्व ग्राहकले उनले यौन दुर्व्यवहार गरेको अनुभव वर्णन गरेका छन्।
पुर्जा र हिन्त्सा एक अभियानमा सँगै काम गर्नेबारे छलफल गर्न मार्च २०२३ मा काठमाडौंमा भेट्न सहमत भएको समाचारमा उल्लेख छ। पुर्जाले लबीमा भिडभाड हुने भन्दै आफ्नो होटेलको स्विट रुममा कफी पिउन अफर गरेका थिए।
मार्च ३० मा मेरियट होटेलमा रहेको पुर्जाको सुइटमा हिन्त्सा पुग्दा पुर्जाले उनलाई एक्कासि ओच्छ्यानतिर लैजाँदा आफ्नो शरीर जमेको बताएकी छन्।
आफूले अस्वीकार गर्दा पनि उनले अनुमति नलिई कपडाहरू खोलेको, आफ्नो महिनावारीको समय भएको बताउँदा पनि योनी छोएको उनले द न्युयोर्क टाइम्सलाई बताएकी छिन्।
‘उनी यति उत्तेजित अवस्थामा थिए कि ‘अस्वीकार’ शब्दको कुनै अर्थ थिएन’, हिन्त्साले स्मरण गरिन्।
उनी बेलायती सेनामा काम गरेको र बलियो भएकाले उनलाई चिढ्याउने कुरा आफूले नसोचेकी उनले उल्लेख गरेकी छन्। आफूले अस्वीकार गरिरहँदा पुर्जा चिढिएजस्तो देखिएको र ब्रा फुकाल्न नदिएपछि उनले हस्तमैथुन गर्न थालेपछि आफूले राहत महसुस गरेको उनले बताएकी छन्।
त्यसपछि पुर्जा नुहाएर बाहिर निस्केपछि मेरियटमा आफूले सञ्चालन गरेको पसल देखाएको र एकजना चालकलाई होटेलसम्म पुर्याउन पठाएको उल्लेख गरेकी छन्।
क्यालिफोर्नियाकी पारिवारिक चिकित्सक डा। एप्रिल लियोनार्डोले पनि पुर्जामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन्। केटुको आरोहणको क्रममा पुर्जाले विना अनुमति चुम्बन गरेको र यौन सम्बन्धको प्रस्ताव गरेको उल्लेख गरेकी छन्।
‘उ मेरो गाइड थियो। म आफूलाई जोखिममा पार्न चाहन्थेँ’, उनले भनेकी छन्।
पुर्जामाथि लागेको आरोपबारे उनीसँग कुरा गर्न प्रयास गर्दा अस्वीकार गर्दै आफ्नो वकिलसँग कुरा गर्न भनेको र उनको वकिलले लिखित रूपमा सबै आरोप गलत भएको दाबी गरेको समाचारमा उल्लेख छ।
होटेल मेरियटको स्विट रुममा अड्डा
उकेराले यसअघि नै निर्मल पुर्जाको नागरिकता र शंकास्पद आगलागीका बदमासीबारे श्रृंखलाबद्ध समाचार प्रकाशित गरिसकेको छ।
उकेराले उनको दोहोरो नागरिकताबारे प्रमाणसहित समाचार प्रकाशित गरेपछि उनले नेपाली नागरिकता त्यागेका थिए।
कपनमा रहेको उनको कम्पनीको कार्यालय रहेको घरमा भएको शङ्कास्पद आगलागीबारे समेत उकेराले श्रृंखलाबद्ध समाचार प्रकाशित गरेको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सो आगलागीबारे अनुसन्धान गरे पनि अझै निष्कर्षमा पुगेको छैन। घर धनीसँगको क्षतिपूर्तिको कानूनी लडाइँ अझै जारी छ।
उनी काठमाडौंमा रहँदा होटेल मेरियटको स्विट रुममा बस्ने गर्छन्। उनले मेरियटको उनको पसल होटेल मेरियट नजिकै छ।
हालै सगरमाथा आरोहणका क्रममा चाहिने डोरी काटिएको भन्दै उनले इन्स्टाग्राममा राखेको भिडियो गलत भएको भन्दै पर्यटन विभागले भ्रम फैलाएकोमा उनीमाथि छानबिन सुरु गरेको थियो।
सम्बन्धित समाचार:-
जेठ २२, २०८१ मंगलबार १३:१५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।