काठमाडौंमा असिनासहित मुसलधारे वर्षा

काठमाडौंमा असिनासहित मुसलधारे वर्षा

काठमाडौं : काठमाडौं उपत्यकामा असिनासहितको मुसलधारे वर्षा भएको छ।

विहानैदेखि कालो बादल छाएको उपत्यकाका विभिन्न स्थानमा असिनासहितको मुसलधारे वर्षा भएको हो।

नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ।

विहानैदेखि कोशी, मधेश, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेकोमा अहिले काठमाडौं उपत्यकामा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जेठ २२, २०८१ मंगलबार ११:५०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।