आईसीसी टी-२० विश्वकपमा आज नेदरल्यान्डसँग खेल्दै नेपाल
काठमाडौं : आईसीसी टी-२० विश्वकपमा नेपालले आज पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ।
खेल नेपाली समयअनुसार बेलुकी सवा ९ बजे अमेरिकाको डालासस्थित ग्रान्डपेरी क्रिकेट रंगशालामा हुनेछ। नेपालले १० वर्षपछि टी-२० विश्वकपमा फर्किएको हो।
सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप नेपालले खेलेको थियो। त्यसपछि नेपाल विश्वकपमा पुग्न सकेको छैन।
विश्वकपका लागि तयारी लागि भन्दै नेपाली टोली एक महिना अगाडि नै अमेरिका गएको छ। सोमबारको अभ्यासपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहित पौडेलले नेदरल्याण्ड्सविरुद्ध जित निकाल्दै विश्वकप यात्रा सुरु गर्नका लागि तयार रहेको बताएका छन्।
ग्रान्ड पेरी रंगशालालाई त्रिवि क्रिकेट मैदानको जस्तै संज्ञा दिँदै खेलका लागि नेपाली समर्थकहरूको उपस्थिति हुने पनि विश्वास व्यक्त गरे। पत्रकार सम्मेलनमा कप्तान पौडेलले समर्थकहरूलाई खुसी र गर्व गर्न लायक प्रर्दशन गर्ने बताए।
‘अमेरिका आएपछि यहाँका समर्थकको ठूलो माया पाएका छौँ। त्रिवि मैदानपछि यो मैदानमा हामीले बढी समर्थन पाउँछौ जस्तो लागेको छ। हाम्रो लागि यो अवसरसँगै जिम्मेवारी पनि हो,’ पत्रकार सम्मेलनमा पौडेलले भने, ‘हामीमाथि उत्कृष्ट क्रिकेट खेलेर उहाँहरूलाई खुसी र गर्व गर्न लायक बनाउने जिम्मेवारी छ।’
टी-२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन्।
जेठ २२, २०८१ मंगलबार ०७:४५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।