हुन्डीको शंकामा 'पेवेल नेपाल' र 'सजिलो पेमाथि राष्ट्र बैंकको अनुसन्धान, बैंक खाता रोक्का
काठमाडौँ : नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरू 'पेवेल नेपाल प्रालि' र 'सजिलो पेमेन्ट सर्भिसेज प्रालि'को बैंक खाता रोक्का गरेको छ।
बैंकले सोमबार सूचना निकालेर ती कम्पनीहरूको सबै बैंक खाता रोक्का गरेको जानकारी सार्वजनिक गरेको हो।
‘यस बैङ्कबाट अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरू पेवेल नेपाल प्रालि, अनामनगर, काठमाडौँ र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालि, बालुवाटार, काठमाडौँबाट भइरहेका कारोबारहरू नियामयकी अनुपालनासम्बन्धी छानबिनको क्रममा रहेका छन्,’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ, ‘उपर्युक्त संस्थाहरूको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’
बैंकस्रोतका अनुसार यी दुवै कम्पनीले हुन्डी, तस्करीलगायतका भुक्तानीहरू गरेको प्रमाणहरू फेला परेपछि बैंकले सबै बैंक खाता रोक्का राखेर अनुसन्धान सुरु गरेको हो।
पेवेल २०७७ माघबाट सञ्चालनमा आएको हो। यसमा वित्तीय, शैक्षिक, धितोपत्र, सहकारी, स्वास्थ्य, होटल, पर्यटन जस्ता व्यवसायीक क्षेत्रमा लामो समय अनुभव भएका व्यक्तिहरू संलग्न रहेको दाबी गरिएको थियो।
सजिलो पे २०७८ बाट सञ्चालनमा आएको डिजिटल वालेट हो। अन्य भुक्तानी सेवा प्रदायकका खाताहरू पनि सट्टा तथा जुवाको रकम भुक्तानी लगायतका गतिविधिमा प्रयोग हुने गरेको प्रहरी अनुसन्धानमा खुल्ने गरेका छन्।
जेठ २१, २०८१ सोमबार २१:३५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।