मनसुनमा १८ लाख जनसङ्ख्या प्रभावित हुने आँकलन, सरकारी निकाय अझै छलफलमै

मनसुनमा १८ लाख जनसङ्ख्या प्रभावित हुने आँकलन, सरकारी निकाय अझै छलफलमै

काठमाडौँ : मनसुनमा आउने बाढी पहिरो अनि त्यसबाट फैलनसक्ने सरुवा रोगका कारण १८ लाख जनसङ्ख्या प्रभावित हुनसक्ने सरकारी निकायकै तथ्यांक छ। तर आङ्कलन अनुसार पूर्व तयारी भने सुस्त छ।

मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ मा विपद्बाट करिब १८ लाख १ हजार जनसङ्ख्या र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुनसक्ने उल्लेख छ। मनसुनजन्य विपद्बाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुनसक्ने र १८ हजार घर परिवारलाई मनसुनजन्य विपद्मा उद्धार तथा राहत दिनुपर्ने आङ्कलन गरिए पनि जिम्मेवार निकाय भने छलफलमै व्यस्त देखिन्छन्।

बल्ल सोमबार मनसुनजन्य विपद् तयारी केन्द्रित गरेर उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको थियो। बैठकले कार्ययोजना पारित गरेर सबै मन्त्रालय, विभाग तथा अन्य सम्बद्ध निकायलाई कार्यान्वयनका लागि निर्देशन दिने निर्णय गरेको छ।

प्राधिकरणको सभा हलमा बसेको बैठकले मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्मका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गर्ने निर्णय समेत गरेको छ।

पोस्टलाई मौसम पूर्वानुमानको जानकारी लिई जोखिमको आङ्कलन गरेर पूर्व तयारी र प्रतिकार्यको योजनाको कार्यान्वयन गर्नेलगायतका जिम्मेवारी तोकिएको छ।

कार्य योजनामा सम्बन्धित मन्त्रालय, विभाग तथा निकायहरूको मनसुन विपद् प्रतिकार्य योजनाका साथै खोज, उद्धार तथा राहत सामग्रीको मौज्दात एवं दक्ष जनशक्तिको विवरण, सम्पर्क व्यक्तिहरूको फोन नम्बरहरू समावेश छ।

बैठकमा गृहमन्त्री लामिछानेले सबै निकायको जिम्मेवारी प्रस्ट पारिएकोले अब कार्यान्वयनको चरण आएको बताएका थिए। लामिछानेले कुनै नीति, नियम वा नियमावलीले नागरिकको ज्यान जोगाउन कार्यलाई बाधा पुग्न नहुने उल्लेख गर्दै कुनै नीतिगत अवरोध भए आफू फुकाउन तयार रहेको बताएका थिए।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नै मन्त्रालयका जिम्मेवारी कार्यान्वयन गर्न लागिपर्ने बताएका थिए। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले प्रतिकार्यमा मात्रै राज्य सक्रिय हुने परम्पराबाट अगाडि बढेर पूर्व तयारीमा पनि गम्भीर भएर लाग्ने पहल सह्रानीय भएको बताएका थिए।

उनले स्वास्थ्य उपकरण, औषधी एवं स्वास्थ्य टोली तम्तयार अवस्थामा राखिने बताएका थिए। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको आङ्कलन सार्वजनिक गरिसकेको छ।

जेठ २१, २०८१ सोमबार २०:५६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।