शाहरुख र काजोल फिचर्ड गीत ‘तुझे देखा तो यो जाना सनम’ले पायो सर्वाधिक भोट

एजेन्सी : फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ को गीत ‘तुझे देखा तो ये जाना सनम’ बेलायतमा सर्वाधिक रुचाइएकोमा परेको छ। बलिउड निर्माता आदित्य चोपडाको उक्त फिल्मको गीतलाई बीबीसीले ९० को दशकको लोकप्रिय बलिउड गीतका रुपमा छनोट गरेको हो।
यो फिल्म बलिउडको इतिहासमा सर्वकालिक ब्लकबस्टर हो। शाहरुख खान र काजोललाई कयौं पुस्तासम्म लोकप्रिय फिल्म स्टार बनाउने श्रेय यही फिल्मलाई जान्छ।
यो फिल्मले बलिउडको इतिहासमा सर्वाधिक लामो समयसम्म प्रदर्शनको रेकर्डसमेत राखेको छ। यो फिल्म अहिले पनि मुम्बईको प्रतिष्ठित मराठा मन्दिर थिएटरमा हरेक दिन देखाइन्छ।
बीबीसीको एसियाई नेटवर्कले स्रोताहरुलाई ५० दाबेदारीको सूचीमा ९० को दशकको सर्वश्रेष्ठ बलिउड गीत छनोट गर्नका लागि निमन्त्रणा गरेको थियो। स्टेसनका प्रस्तुतकर्ता हारून रशीद, निकिता काण्डा, गगन ग्रेवाल र नादिया अलीसँगै उद्योग विशेषज्ञ असीम बर्नी, अमृता तन्ना र करण पंगालीले गीतहरुको सर्ट लिस्ट तयार पारेका थिए।
जसमा फिल्म ‘ये दिल्लगी’को ‘ओले ओले’देखि लिएर ‘खामोशीः द म्यूजिकल’को गीत ‘बाहों के दरमियान’ जस्ता गीत थिए। यद्यपि अधिकांशले सन् १९९५ को ब्लकबस्टर फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’को ‘तुझे देखा तो ये जाना सनम’लाई भोट गरेका थिए।
डीडीएलजे राज भन्ने युवकको कथा हो, जुन चरित्रमा अभिनेता शाहरुख खान छन् र फिल्ममा काजोलले सिम्रनको भूमिका निर्वाह गरेकी छन्। यी दुवै लण्डनमा बस्ने भारतीय हुन्छन्।
यो गीतमा कुमार सानु र लता मंगेशकरको स्वर छ। यो गीत यो दशकको संगीत स्ट्रीमिङ प्लेटफर्मममा सर्वाधिक बज्ने गीतमध्ये एक हो।
जेठ २१, २०८१ सोमबार २०:०८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।