पाटनको अग्निशाला धानिरहेका उमेश जो जीवन धान्न भएका छन् मेकानिक्स
भ्याली रिसोर्टमा काम गरिरहेका उमेश शर्मा राजोपाध्याय २५ वर्षअघि साथीहरूसँग मोटरसाइकलमा दक्षिणकाली घुम्न गए। जाडो महिनाको समयमा बिहानै सात बजे दक्षिणकाली नपुग्दै बाटोमा उनीहरूको मोटरसाइकल बिग्रियो। उनीहरूले बिग्रिएको मोटरसाइकल बनाउन सकेनन्। त्यत्तिकैमा मालवाहक गाडीको व्यक्तिसँग उनीहरूले सहयोग मागे।
ती व्यक्तिले गाडी बाहेक अर्को साधन बनाउन नआउने बताए। उनीहरूले नबनाए पनि के भएको रहेछ हेरिदिन आग्रह गरे। उनले हेर्दा साइडको सानो प्लग छुट्टिएको रहेछ। त्यो जोड्ने बित्तिकै मोटरसाइकल स्टार्ट भयो।
'अनि मलाई चलाउन मात्र जानेर नहुने रहेछ। थोरै भए पनि यसको ज्ञान त हुन पर्ने रहेछ भन्ने लाग्यो,’ जेठको चर्को घाम छलेर बसेका उनले सम्झिँदै सुनाए,’मैले मर्मत गर्ने सबै सिके। अनि अरूको काम गर्नु भन्दा यही ग्यारेज खोल्न पर्छ भन्ने लागेर तालिम लिएपछि ग्यारेज खोलिहाले।’
अल्लारे उमेरका उनलाई बिदेसिने पनि रहर रहेछ। त्यै भएर सीटीइभीटीको तालिम समेत लिए। आवश्यक पर्न सक्छ भनेर टन्न सर्टिफिकेटहरू पनि बनाए। तर पछि घरबाट बिदेसिनू पर्दैन भने।
‘अब उनीहरूकै भविष्यको लागि जान्छु भनेको हो। उनीहरूले नै जान पर्दैन भनेपछि ठिकै छ नि त भने, आफ्नो वर्कसप चलाएर बस्न थाले। अहिले सम्म यतै छु,’ उनले हाँस्दै सुनाए।
वर्कसप खोल्ने बेलामा उनको घर पनि बनिरहेको थियो। त्यहिबेला बा’लाई हृदयाघात भयो।
‘धेरै तनाव थियो। त्यै भएर एकै पटक ठुलो वर्कसप खोल्ने आँट आएन। पार्टनरसिपबिना अलि भित्री गल्लीमा खोलेँ। अहिले पनि रोडमा खोल्ने आँट आएको छैन,’ उनले भने।
अहिले उनको वर्कसप कुमारीपाटी नपुग्दैको गल्लीमा छ। तर पनि उनको यही मूल पेसा भने होइन। नेवार समुदायको ब्राह्मण हुन् उनी। उनको मुख्य काम कर्मकाण्ड नै हो।
नेवार संस्कृतिमा पर्ने हरेक कर्म उनले गर्न जानेका छन्। त्यसबाहेक यहीको कृष्ण मन्दिर र अग्निशालामा समेत उनी पुजारी छन्। कृष्ण मन्दिरमा हरेक दश वर्षमा पछाडि सात रहेको दशक (२०५७, ०६७, ०७७, ०८७ )मा उनीहरू पुजारी हुन्छन्। अनि अग्निशालामा भने उनी दुई वर्ष देखि निरन्तर रूपमा पुजारी छन्।
उनी भन्दा पनि उनको भाइ मूल पुजारी हुन्। भाइ नभएको समयमा उनी साथ दिन पुग्छन्। अहिले सबेरै उठेर उनी अग्निशाला पुगिहाल्छन्। नित्य पूजा, मूर्ति प्राण प्रतिष्ठान, होम, श्राद्ध गर्दैमा १२ बज्छ। अनि अग्निशालाको ढोका बन्द गरेर उनी घर आउँछन्। वर्कसपसँगै श्रीमतीले पसल राखेकी छन्। उनीले खाना ल्याइदिएकी हुन्छिन्। अनि दिनभर वर्कसप हेरेर बस्छन्।
कार्तिक नाचमा नरसिंह र कृष्णाष्टमीमा कृष्ण समेत उनी बनेका छन् उनी
चार हजार वर्ष देखि बलिरहेको अग्नि !
कृष्ण मन्दिर जसरी नै यहाँको अग्निशालाको पनि आफ्नै पुरातात्त्विक महत्त्व छ। अग्निशालालाई सम्भवतः संसारकै एक मात्र पञ्चाग्नि सहित अखण्ड अग्नि प्रज्वलित भइरहने पाँच यज्ञकुण्ड भएको धार्मिक तथा पुरातात्त्विक स्थल मानिन्छ। यसमा ललितपुरकै देव ब्राह्मणहरूको समूह षङ्कल (स्वथः मण्डिछे, बकनिम्ह, वलानिम्ह, स्वनिम्ह, नुगः सुन्धारा र तःधँलिबि) अन्तर्गतका स्त्री शक्ति सहित उपाकर्म गुठीका ज्येष्ठ सदस्य मूल अग्निहोत्री हुने गर्छन्।
तीनै ब्राह्मण समूहमध्ये एक राजोपाध्याय पनि हुन्। यस अग्निशालाको गर्भ गृहमा ब्रह्मकुण्ड, विष्णुकुण्ड, रुद्रकुण्ड, सूर्यकुण्ड र सभ्यकुण्ड गरी पाँच कुण्ड छन्।
‘हाम्रो पुर्खाहरू भारतको एउटा राज्यबाट चार हजार वर्ष अघि यहाँ आउनु भएको रे। श्रीमान् र श्रीमती नै यहाँ आउँदा आराम गर्ने भनेर बस्नु भएछ। अनि आफूसँगै ल्याउनु भएको लौरोमा बिहान हेर्दा त टुसा पो पलाए छ,’ उमेशले सुनाउँदै गए, 'अनि ओहो यो त पवित्र ठाउँ भनेर यतै बस्नु भएको रहेछ। त्यही बेला उहाँहरूले बाल्नु भएको अग्नि अहिलेसम्म निभेको छैन।’
स्थानीयको विश्वास अनुसार परापूर्वकालमा आगो बाल्ने कुनै साधन नहुँदा ललितपुरका बासिन्दाले यहीबाट आगोको झिल्का लगेर आफ्नो लागि प्रयोग गर्थे। अनि त्यस टुसा पलाएको लौरो भने ठुलो वृक्ष भएर फैलिएको छ। बाटोदेखि नजिकैको घरसम्म फैलिरहेको भए पनि त्यस रुख काट्ने अनुमति भने कसैलाई छैन।
चितवनको देवघाटमा त्रिवेणी भएको जस्तै यहाँ पनि त्रिवेणी भएको कारण मकर सङ्क्रान्तिमा मेला लाग्ने गर्छ। त्यही दिन हो रे उमेश पनि सबै भन्दा धेरै व्यस्त हुने।
विश्वास घट्दै गयो
बाजे र बा’ले गरेको हेरेर नै उनले पनि कर्मकाण्ड गर्न सिकिसकेका रहेछन्। सानै देखि प्राय बा’लाई उनी पछ्याउँदै जान्थे। व्रतबन्ध भएदेखि भने आफै पनि यसैमा लागे। त्यै भएर पनि पढाइमा निरन्तरता दिन सकेनन्। उनी सानोमा फुटबल पनि खुब राम्रोसँग खेल्थे।
‘मन्त्रहरू पढियो। संस्कृत जानेको छैन। त्यै भएर पण्डित लेभलको चैँ म होइन। काम गर्न सक्छु त्यति हो,’ उनले भने।
यसबीचमा उनले धर्मप्रति अविश्वास बढेको र देखाउनकै लागि जबर्जस्ति कर्मकाण्ड गरेको समेत देखेका रहेछन्। पहिलाको भन्दा धेरै प्रश्न गर्दा पनि अहिलेको पुस्ताले आफ्नो धर्म चिन्न नसकेको उनी बताउँछन्।
उनी भन्छन्, 'यो किन गर्ने ? यो गर्यो भने के हुन्छ ? भनेर चैँ निकै चासो राख्छन्। प्रश्न गर्नु राम्रो हो। तर पहिलाको जस्तो जुन आस्था र विश्वासका साथ कर्म गर्थे त्यो नै देखिन छोडे।’
आस्था र विश्वास कम हुँदै गर्दा ब्राह्मणलाई हेर्ने दृष्टि र उनीहरूलाई गर्ने व्यवहारमा पनि उनले फरक अनुभूति गरेका रहेछन्।
'मेरो बा’ले कहिले पनि यताउति भनेर दक्षिणा नमाग्नु, यथाशक्ति जति दिन्छ त्यतिमै खुसी हुनु भन्नुभएको थियो। मैले गरेको पनि त्यही हो। तर पनि २०,२५ लाख खर्च गरेर बिहे गर्नेहरूले पाँच सय दिँदा त खिन्न भइने रहेछ। हामीले पनि यसरी नै सर्भाइभ गर्ने न हो,’ मधुरो आवाजमा उनले सुनाए।
मन्दिरमा आउँदा भक्तजनहरूको अनेकौँ गुनासो, पीडा समेत सुन्ने गर्छन्। आफ्नै समस्या भने लुकाएर राख्छन् उनी।
सवारी मर्मत गर्ने भन्दा नयाँ किन्नुमै रुचाउने व्यक्तिहरू ठुलो ठुलो शोरुममा जाने देखेका उनले आफ्नो वर्कसपलाई बढाउने सोच्न सकेका छैनन्।
'अहिलेको हिसाबमा धेरै गाह्रो छ। सबैले सहकारीमा पैसा राखेको छ। पैसा जति त्यसरी अड्किएको छ। बल्लबल्ल गाडी चढ्न थालेकोहरु हिँड्न थाले। अनि शोरुम जानेहरू त वारेन्टी, ग्यारेन्टीको कुरा गर्न थाल्छन्,’ उनले सरासर सुनाए।
आफ्नो दुवै काम सुस्तसँग चलिरहेको भए पनि उनी दुखी भने छैनन्। उनी र उनको कान्छो भाइ मिलेर आफ्नो धर्म र संस्कृतिलाई जोगाइराखेकोमा खुसी छन् । उनले जिन्दगीबाट अब धेरै आस पनि राखेका छैनन्।
उनको छोराले भर्खरै १२ कक्षाको परीक्षा दिएका रहेछन्। उनलाई उच्च शिक्षा पढाउन पाए हुने भन्ने उनको इच्छा छ। कृष्ण मन्दिर हेरे बापत गुठी संस्थानले ३५ रुपैयाँ दिने गर्छ। अनि अग्निशालाको लागि उनीहरूको अलग्गै समूह छ।
जेठ २१, २०८१ सोमबार १५:३७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।