एउटै फिल्मबाट डेब्यु गरेका अनमोलको चर्चा, सुशिललाई परिचित हुनै धौधौ
काठमाडौं : भनिन्छ- बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन। यस्तै भएको छ, अभिनेता सुशिल श्रेष्ठलाई। उनलाई अहिले दर्शकमाझ परिचित हुन कठिन पस्रिरहेको छ।
उनी राम्रो अभिनय गर्दागर्दै पनि दर्शकमाझ बिक्न सकेका छैनन्। उनीसँगै फिल्ममा डेब्यु गरेका कलाकारको चर्चा र फिल्ममा काम गर्न पारिश्रमिकको डिमाण्ड महँगो छ। तर, उनी भने चुपचाप काम गरिरहेका छन्। त्यसैले न उनको चर्चा छ न गुमनाम नै।
नौ वर्षअघि फिल्म ‘होस्टेल रिटर्न्स’बाट अभिनेताका रुपमा डेब्यु गरेका उनको फिल्मको संख्या हेर्ने हो भने आधा दर्जनको आसपासमा संख्या पुगिसकेको छ। ‘सायद २’,‘कारखाना’,लभ डायरिज’हुँदै पछिल्लो फिल्म ‘आउट लः दफा २१९’सम्म आइपुग्दा आधा दर्जन भन्दा बढीमा काम गरिसकेका छन्।
यतिका संख्यामा फिल्ममा मुख्य भूमिका निवार्ह गर्दा पनि दर्शकमाझ उनी अझै नयाँमै गनिन्छन्। उनलाई दर्शकले नोटिस गर्नै मुस्किल परेको छ।
उनले अभिनय गरेको पहिलो फिल्म नै हिट बनेको थियो। यही फिल्मबाट उदाएका अभिनेता अनमोल केसी अहिले डिमान्डेड अभिनेताका रुपमा छन्। तर, शुशिल भने दर्शकमाझ मात्रै होइन, फिल्मकर्मीमा पनि नयाँ कलाकारकै रुपमा हेरिन्छन्।
उनले फिल्ममा काम नगरेको पनि होइन, एकपछि अर्को फिल्ममा उनले अभिनय गरिरहेका छन्। गत बिहिबार उनी अभिनित फिल्म ‘आउट लः दफा २१९’को पोस्टर सार्वजनिक भयो। असोज ३ गते प्रदर्शनमा आउन लागेको यो फिल्मको पोस्टरमा उनलाई मात्र प्रस्तुत गरिएको छ। एक्सन अवतारमा उभिएका उनको न चर्चा भयो न यो पोस्टरको।
अरू बेला चुपचाप बसेपनि अब फिल्म चल्ने बेलामा यसो हल्ला खल्ला गर्ने कि सुशिल जि? नत्र त सधैँ पछि परिने भैयो नि हैन र?
जेठ २१, २०८१ सोमबार १५:३६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।