गाँजाको औषधि बेचेर २ खर्ब राजश्व उठाउन सकिन्छ : सांसद् गुरुङ

गाँजाको औषधि बेचेर २ खर्ब राजश्व उठाउन सकिन्छ : सांसद् गुरुङ

काठमाडौं : पूर्वमन्त्री धनराज गुरुङले गाँजालाई औषधि बनाएर प्रशोधन गर्न सके दुई खर्ब राजश्व वृद्धि हुने बताए।

बजेटमाथिको छलफलको क्रममा प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘गाँजा खेतीको सन्दर्भमा कानून बनाउनको लागि त्यो सँग सम्बन्धी मन्त्री र सचिवहरूलाई छिटो यस सम्बन्धी कानून तर्जुमा गरेर ल्याउन भनेको थिएँ। यसलाई औषधिजन्यको रूपमा यसको प्रवर्द्धन गर्नुपर्छ। यसलाई प्रतिबन्ध लगाउने कुरा गलत भइरहेको छ त्यसकारणले गर्दा यसलाई औषधि बनाउनको लागि गाँजा खेती गर्न सक्छौँ। हामीले गाँजालाई औषधि बनाएर प्रशोधन गर्न सक्यौ भने २ खर्ब आजको लिनमा राजश्व वृद्धि हुन्छ। यसतर्फ पनि ध्यान दिनुपर्छ।’

सांसद गुरुङले सत्तामा हुँदा मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने भन्ने भाष्य गलत भएको भन्दै सबैको साथ सहयोगका साथ नेपाल निमार्ण गर्नुपर्ने बताए।

उनले भने, ‘साथ सहयोग गरेर अघि बढौँ, नेपाल बनाउने सबै मिलेर हो। सत्तामा हुँदा मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने होइन। यस्तो दृष्टिकोणसहित हामी अगाडि बढौँ। योजनाहरू बनाउ र अगाडि बढौँ। अर्थ मन्त्री त परिवर्तन भइरहन्छ अब नेपाली जनताको जीवन परिवर्तन गर्ने प्रण गरौँ।’

उनले राजश्व वृद्धि गर्न गारो छ भनेर बसेर नहुने भन्दै यसलाई कसरी सजिलो बनाउन सकिन्छ त्यसतर्फ सरकारले ध्यान दिनु पर्ने बताए।

उनले भने, ‘राजस्वका लक्ष्यका सन्दर्भमा हामीले राजस्व कसरी बढाउन सकिन्छ, करको दायरा बढाउनु पर्छ। यो गैर कानूनी जुन कारोबारहरु छन्, त्यसलाई बन्द गर्ने हो भने हामीले १२ खर्बबाट धेरै माथि राजस्व उठाउन सकिन्छ। खाली गारो छ गारो छ भन्ने होइन कसरी सजिलो हुन्छ त त्यो कुरा पनि हामीले बताउनु पर्छ भन्ने मलाई लाग्छ। हाम्रो प्रवृत्ति भनेको हामीले हरेक कुरालाई नकारात्मक रुपमा मात्र हेर्ने छ त्यसकारण नकारात्मक पक्षमा मात्र छलफल गर्दा सबै कुरा नकारात्मक तरिकाले नै अघि बढ्छ।’

यसको साथै घरेलु मदिरा सम्बन्धी पनि कानून बनाएर यसलाई व्यवस्थापन गर्न सक्यौं भने थप अर्को २ खर्ब रुपैयाँ राजश्व उठ्ने भन्दै यही पैसा भएपनि छैन भन्ने अनि हात थाप्ने बानीले बसेको पनि उनको भनाइ छ।

जेठ २१, २०८१ सोमबार १३:३०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।