संकटको प्रभाव : बचत गर्न डराउँछन् सर्वसाधारण, लगानी गर्नै तर्सिन्छन् सहकारी

संकटको प्रभाव : बचत गर्न डराउँछन् सर्वसाधारण, लगानी गर्नै तर्सिन्छन् सहकारी

बुटवल : पछिल्लो समय सहकारीहरूमा रकम अपचलन बढेको घटना बाहिर आएसँगै सहकारीहरू लगानी गर्न डराएका छन्। जसकारण सहकारीमा बचत रकम थुप्रिँदै गएको छ।

अहिले धेरै सहकारीहरूले लगानी गरेको रकम उठाउन सकस भएकै कारण जोखिममा छन्। त्यसैले पनि सहकारीहरूले अहिले सजिलै लगानी गर्न सकिरहेका छैनन्।

सहकारीहरूमा हुने धेरै सदस्य निम्न बर्गका छन्। दिनभर काम गरेर पाउने पारिश्रमिकबाट बचेको रकम सहकारीमा जम्मा गर्ने बचतकर्ता धेरै छन्। त्यस्ता बचतकर्ताहरूमा अहिले सहकारीप्रति विश्वास घट्दै गएको छ। त्यसैले कतिपय बचतकर्ताहरूले धमाधम रकम झिकिरहेका छन्।

‘मैले कारपेन्टरको काम गरेर जसोतसो मासिक १ हजार बचत गर्थेँ। तर ठूला भनिएका सहकारीहरू डुबेपछि घरनजिकको सहकारीप्रति पनि विश्वास छैन,’ बुटवल-११ देविनगरका श्याम रानाले भने। श्यामको बुटवलकै सुप्रिम सहकारीमा ९० हजार रकम डुबेको छ।

कुनै बेला सहकारीहरू ऋण लिने र ब्याज उठाउन मात्रै सीमित थिए। उनीहरूको लगानीको क्षेत्र उत्पादनमुलक भन्दा बढी अनुत्पादक क्षेत्र थियो। त्यो बेला सहकारीहरूमा खराब कर्जा कम थियो। सहकारीहरू जोखिममा थिएनन्। तर, सबै क्षेत्रमा लगानी गरेका सहकारीहरूले पनि नियमित किस्ता र व्याज उठाउन सकिरहेका छैनन्।

रुपन्देहीको तिलोत्तमा-३ शंकरनगर स्थित सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सूचना अधिकारी ईश्वरी मरासनीले बढ्दो आर्थिक मन्दी र जग्गा व्यवसायमा भएको न्यून कारोबारका कारण पनि सहकारीले पहिले जस्तो लगानी गर्न नसकेको बताए।

‘अहिले जग्गाकै लागि लगानी गर्न सकिएको छैन। राम्रो धितो र आम्दानी राम्रो भएकालाई बाहेक अत्यत्र सहकारीले लगानी गर्न सकेका छैनन्,’ उनले भने, ‘लगानी गर्न रोकेकै अवस्था होइन। हिजो धितो र व्यवसाय हेरेर लगानी गरिन्थ्यो भने अहिले आम्दानी हेरेर, बजार हेरेर मात्र लगानी गर्ने गरेका छौँ।’

बुटवलको ईन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद अर्यालले सहकारीमा खराब कर्जा नभए पनि लगानी गरेको स्थानबाट नियमित आउनुपर्ने किस्ता बापतको रकम र ब्याज आउन नसकेको बताए।

‘आर्थिक मन्दीका कारण केही समस्या देखिएको छ। तर, हामीले लगानी जति गरेका छौँ, ती जोखिममा छैनन्। यद्यपि लगानी गर्दा बढी ध्यान पुर्याउनुपर्ने अवस्था चाहिँ छ’, उनले थपे।

सहकारी दर्ता अधिकारीको कार्यालय लुम्बिनी प्रदेशका सूचना अधिकारी भीमराज पोखरेलले अहिले अनुत्पादक क्षेत्रमा मात्र नभई उत्पादनमूलक क्षेत्रमा गरेको लगानी पनि सहकारीहरूले उठाउन सकिरहेका छैनन्।

उनले भने, ‘उत्पादनमुलक क्षेत्रमा लगानी गरेकाहरूले पनि अहिलेको अवस्थामा नियमित किस्ता तिर्न सकेका छैनन्। अनुत्पादक क्षेत्रमा लगानी गरेकाहरूलाई त झन् बढी समस्या छ।’

लुम्बिनी प्रदेशको नियमन अधिकार भित्र ७ सय ८७ सहकारी छन्। यी सहकारीहरूमा २२ अर्ब ८० करोड ३४ लाख ३७ हजार रकम संकलन भएको छ। यी सहकारीहरूले २४ अर्ब २४ करोड ११ लाख ८४ हजार कुल सेयर लगानी भएको सहकारी दर्ता अधिकारीको कार्यालय लुम्बिनी प्रदेशले जनाएको छ।

संकलन बचत मध्ये ३ अर्ब ७१ करोड २३ लाख रूपैयाँ शेयर पुँजी हो। कुल ७ सय ८७ सहकारीमा महिला ९३ हजार ३५२, १ लाख २८ हजार ३२८ पुरुष र ११४ अन्य गरी कुल २ लाख २१ हजार ७९४ सदस्य छन्।

प्रदेशमा बचत तथा ऋण सहकारी २६६ छन भने बहुउद्देश्यीय सहकारी २४३, कृषि सहकारी १३९ छन्। प्रदेशमा दुग्ध, उपभोक्ता, सञ्चार, अदुवा, साना किसान कृषि सहकारी, कफि, तरकारी तथा फलफूल, मौरी पालन, विद्युत्, पशुपालन सहकारीहरू रहेका छन्।

बचत तथा ऋण सहकारी संघ रूपन्देहीका अध्यक्ष बसन्त ढकाल केही सहकारीहरू समस्या पर्दा समग्र सहकारी क्षेत्रमा प्रभाव परेको बताए।

‘पहिले सहकारीलाई जिल्ला-जिल्लामा डिजिभन कार्यालय हेर्ने गर्दथ्यो। तर, अहिले अनुगमन भएकै छैन। राज्यका निकायले गम्भीरतापूर्वक सहकारीको विषयलाई ध्यान नदिँदा सहकारीहरू बदनाम भइरहेका छन्’, उनले भने।

राज्यको तर्फबाट हुने अनुगमन, जवाफदेहिता नहुँदा पनि अहिले सहकारीहरूले लगानी गर्न डराएको उनको भनाइ छ। उनले प्रदेश सरकारले राजनीतिक शक्ति र पैसाका आधारमा धमाधम सहकारी सञ्चालनको अनुमति दिने र अनुमति दिएका सहकारीहरूको अनुगमन नभएकै कारण अहिले सहकारीहरू धेरै जोखिममा परेको बताए।

सूचना अधिकारी पोखरेलले भने कतिपय सदस्यहरूले सहकारी के भनी नबुझी रकम जम्मा गर्ने प्रवृत्तिका कारणले पनि सहकारीमा समस्या निम्तिएको बताए।

बैंकले भन्दा बढी ब्याज दिने बहानामा कतिपय सदस्यहरूले बढीभन्दा बढी रकम सहकारीमा जम्मा गर्ने तर सदस्यले सञ्चालकहरू कार्यक्षेत्रका हुन वा होइनन्, बचतको सुरक्षा हुन्छ वा हुँदैन भन्ने हेक्का नराख्दा पनि समस्या भएको बताए। साथै उनले अहिले सहकारीहरूले लगानी गर्दा लगानीको सुनिश्चितताको ग्यारेन्टी भएमा मात्र लगानी गर्न थालेको बताए।

‘सहकारीका यी घटनाले धेरैलाई पाठ सिकाएको छ। सदस्यहरूले आफ्नो सहकारी कस्तो हो भन्ने बुझेका छन्। हचुवाको भरमा लगानी गरेका सहकारीहरूले लगानी उठ्ने ग्यारेन्टी भएमा मात्र लगानी गर्न लागेका छन्’, उनले भने।

केही सहकारीका सञ्चालकहरूले बचतकर्ताले जम्मा गरेको रकमलाई गलत मनसायले खेलवाड गरेको बताउँदै उनले त्यस्ता सहकारीहरूलाई आफूहरूले अनुगमन गरिरहेको बताए।

‘कतिपय सहकारीहरूले धितो भन्दा बढी ऋण प्रवाह गरेका छन्। सहकारीको सदस्य नभए पनि ऋण दिइएको छ। साधारण सभामा ५१ प्रतिशत सदस्य नभए पनि साधारणसभा गरेका छन्। घर-घर रजिष्टार डुलाएर कोरम पुराउने सहकारीहरूमाथि हामी अनुगमन गरिरहेका छौँ। कारबाहीको दायरामा ल्याउँछौं’, उनले भने।

अहिले कतिपय सहकारीबाट ऋण लिनेहरूले उत्पादनमूलक क्षेत्रमा त्यति लगानी गरेको देखिँदैन। ऋण लिने अनि अनुत्पादक क्षेत्रमा लगानी गर्नेहरूले अहिले सहकारीमा नियमित किस्ता तिर्न सकेका छैनन्। उनीहरूले आर्थिक मन्दीको कारण देखाएर पनि किस्ताबन्दीमा चुक्ता नगर्ने परिपाटी बढेको छ। जसले गर्दा सहकारीहरूमा जोखिम कर्जा बढेको छ।

‘कृषि, पशुपालनमा लगानी गरेका ऋणीहरूले अहिले बजारमा वस्तुको बिक्री गर्न सकेका छैनन्। असल  ऋणीहरूले पनि चाहेर पनि ऋण चुक्ता नगर्दा यसले समग्र सहकारीमा समस्या निम्त्याएको छ’, सूचना अधिकारी पोखरेलले भने ।

कुनै समय जग्गा प्लटिङ र व्यापार राम्रो थियो। धेरै सहकारीहरूलाई जग्गा प्लटिङ, व्यापारमा लगानी गरेका थिए। तर, अहिले यो क्षेत्रमा लगानी गर्न पनि सहकारीहरू तर्सिएका छन्।

जिल्ला सहकारी संघ रूपन्देहीका अध्यक्ष भीम तुलाचनले अहिले परिस्थितिलाई ध्यानमा राखेर धेरै सहकारीले लगानी गर्दा अध्ययन र अनुसन्धान गर्न थालेको बताए।

आधारभूत तहमा काम गर्ने सहकारीमा कुनै पनि समस्या उनको भनाइ छ। उनले सहकारीको सिद्धान्त, मूल्यमान्यता र नीति विपरीतले काम हुँदा सहकारीको सबै  क्षेत्र अहिले त्रसित भएको बताए।

कृषि, दुग्ध लगायतका सहकारीहरूको तुलनामा बचत र बहुउद्देश्यीय सहकारीहरूमा कर्जा जोखिम रहेको भन्दै अहिले सार्वजनिक भइरहेका घटनाबाट सबै सहकारी सजग भएको बताए।

‘जसले घरजग्गामा लगानी गरे। सबैभन्दा बढी समस्यामा त्यही सहकारीहरू परेका छन्। उनीहरूको कर्जा जोखिममा छ’, उनले भने।

तुलाचनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने क्रममा विमानस्थल देखेर हौसिँदै घरजग्गामा लगानी गर्दा पनि धेरै सहकारीमा खराब कर्जामा छन्।

‘सरकारबाट सहुलियत पाउँछु, अनुदान पाउँछु भनेर ठुलो लगानी गर्नेहरू पनि समस्यामा परेका छन्। तर, आधारभूत तहमा काम गर्ने सहकारीमा समस्या छैनन्’, उनले भने।

साथै उनले उत्पादनमुलक क्षेत्रमा लगानी गरेका कृषि, दुग्ध, मौरी लगायतका सहकारीमा कम खराब कर्जा भए पनि बढीभन्दा बढी घरजग्गा, हायर पर्चेचमा लगानी लगाएका सहकारीहरूमा अहिले खराब कर्जा असुलीदर बढेको बताए।

जेठ २१, २०८१ सोमबार १३:१६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।