‘आन्तरिक ऋण बढ्दै गए नेपाल पनि श्रीलंका र पाकिस्तान बन्छ’
काठमाडौं : एमाले नेता रघुजी पन्तले आन्तरिक ऋण लिनै नहुने बताएका छन्।
आगामी आर्थिक वर्षको बजेटको छलफलमा उनले सरकारले आन्तरिक ऋण लिँदा व्याज बढी हुने र त्यसले स्थानीय व्यापारी र व्यवसायीले ऋण निकाल्न नपाउने बताए।
‘आन्तरिक ऋण त सकेसम्म लिनै नपरे राम्रो,’ उनले भने, ‘किनभने वैदेशिक ऋणमा ब्याज पनि कम हुन्छ र लामो समयका लागि प्रयोग गर्न पाइन्छ। बैंकबाट आन्तरिक ऋण सरकारले लिएपछि पुँजीपती र निजी क्षेत्रले लगानी गर्ने पैसा कहाँ पाउँछन्।’
बजेट यथार्थवादी हुन खोजे पनि, जति हुनुपर्ने त्यति नभएको भन्दै उनले तय गरिएको वैदेशिक अनुदान र वैदेशिक अनुदानको लक्ष्य हासिल गर्न गाह्रो भएको बताए।
लक्ष्य पूरा नभएपछि आन्तरिक ऋण बढ्ने र त्यसो भएमा हामी दुई÷तीन वर्षअघिको श्रीलंका र आजको पाकिस्तानको स्थानमा पुग्नेतर्फ ध्यान दिन उनले अर्थमन्त्रीलाई आग्रह गरे।
अर्थ मन्त्रालयले पाँच खर्बभन्दा बढीको स्रोत सुनिश्चितताको पत्र विभिन्न मन्त्रालयहरुलाई दिइसकेको जानकारी आएको भन्दै उनले त्यो स्रोत कसरी जुटाउने भन्दै प्रश्न गरेका हुन्।
यसले अर्थ मन्त्रालयमा देखिएको आार्थिक अराजकतालाई देखाउँछ। कुन–कुन अर्थमन्त्रीको पालामा त्यसरी बजेट नहुँदै स्रोत सुनिश्चितताको पत्र दिनुभो। बजेट नहुँदै स्रोत सुनिश्चितता दिँदा टेण्डर गर्न पाउँछ तर बजेट नहुँदा ठेकेदारले पैसा पाउँदैन। अनि काम हुन्छ?
अर्थमन्त्रीलाई कडा रुपमा आर्थिक अनुशासनलाई नियन्त्रणमा राख्न आग्रह गर्दै उनले सरकारले छुट्याएको ठाउँमा बजेट पुग्ने विश्वस्त नभएको बताए।
जेठ २१, २०८१ सोमबार १२:२५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।