ओलीले असभ्य भनेपछि बोले बालेन, १० हजार करोडको गिरिबन्धु काण्ड लुकाउन अर्को काण्ड मच्चाएको आरोप

ओलीले असभ्य भनेपछि बोले बालेन, १० हजार करोडको गिरिबन्धु काण्ड लुकाउन अर्को काण्ड मच्चाएको आरोप

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गिरिबन्धुको १० हजार करोडको गिरिबन्धु काण्ड लुकाउन अर्को काण्ड मच्चाएको आरोप लगाएका छन्।

सोमबार विहान सामाजिक सञ्जालमार्फत उनले १० हजार करोडको गिरिबन्धु काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउन लागेको बताएका छन्।

उनले भने, ‘यहि १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नुभएछ।’

भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको प्रत्यक्ष निर्देशनमा काठमाडौं महानगरले भत्काएको न्यूरोडको सडक सडक विभागले पिच गर्न थालिसकेको छ। यस विषयमा कटाक्ष गर्दै बालेनले आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो  भएको बताए।

‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ।’

उनले थपे, ‘झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’

स्टाटसमा उनले नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि कटाक्ष गर्दै लेखेका छन्, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो।’

केपी ओलीले शनिबार अर्काको ढोकामा लगेर फोहोर फ्याँक्नु असभ्य शैली भएको बताएका थिए।

बालेनको नाम नलिइ उनले भनेका थिए, ‘म छक्क पर्छु, कति साह्रो कमजोर प्रवृत्ति भएको होला मान्छेलाई, कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँकिदिन्छ? यो गलत गर्यौं भनेर कसैले भन्न सक्दैन के हालत होला यो? यो गलत हो, यस्ता क्रियाकलाप हुन हुँदैन स्वस्थ र सभ्य समाजका लागि, असन्तुष्टि, आक्रोश, प्रतिक्रिया केही पनि देखाउने तरिका भनेको मलाई छिमेकीसँग अलिकति चित्त बुझेन, रिस उठ्यो भने घरको फोहोरसोहोर जम्मा गरेर लगेर उसको ढोकामा फ्याँकिदिने? यो कुनै सभ्यता हो? आज यङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन?’

जेठ २१, २०८१ सोमबार १०:३७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।