ओमानलाई सुपर ओभरमा हराएर टी२० विश्कपमा नामिबियाको विजयी सुरुवात
काठमाडौं : आईसीसी टी२० विश्वकप नामिबियाले विजयी सुरुवात गरेको छ।
ओमानले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले १०९ रन मात्र बनाएपछि सुपर ओभरमा गएको खेल नामिबियाले ११ रनले जितेको हो।
पहिला ब्याटिङ गर्दै नामबियाले बोर्डमा २१ रन बनाएको थियो। उसका लागि डेभिड विसेले तीन चार बलमा १३ रन र जेरार्ड इराशमसले दुई बलमा आठ रन बनाए।
२२ रनको लक्ष्य पछ्याउन आएको ओमान १० रन मात्र बनाउन सक्यो। उसले नसीम खुसीको एक विकेट गुमायो पनि।
त्यसअघि ओमानले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले छ विकेट गुमाएर १०९ रन नै बनाएको थियो।
उसका लागि जन फ्रिलिंकले ४५, निकोलस डेभिनले २४, जेरार्ड इराशमसले १३, जेजे स्मितले ८ रन बनाएका थिए।
ओमानका मेहरान खानले तीन तथा आकिब इलियास, आयान खान र बिलाल खानले समान विकेट लिएका थिए।
त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङमा तानिएको ओमानले १९.४ ओभरमा १०९ रनमा अलआउट भएको थियो।
नामिबियाको बलिङमा ओमानका टपअर्डर ब्याटर टिक्नै सकेनन्। ओपनर कश्यप प्रजापति पहिलो बलमै आउट भए। उनलाई रुबेल ट्रम्पलम्यानले एलबिडब्लु आउट गरे।
त्यसपछि नसीम खुसी र कप्तान आकिब इलियासलाई पनि उनै ट्रम्पलम्यानले आफ्नो बलिङमा फसाए। जीसान मक्सुद र खालिद केलले २७ रनको साझेदारी गरे भने त्यसपछि केल र आयान खानले ३१ रनको साझेदारी गरे।
त्यसक्रममा मक्सुदले २२, केलले ३४ र आयान खानले १५ रन बनाए। त्यसबाहेक सकील अहमदले ११ रन जोड्दा बाँकी खेलाडीले दोहोरो अंकम रन बनाउनै सकेनन्।
नामिबियाका ट्रम्पलम्यानले चार विकेट लिँदा डेभिड विसेले तीन तथा जेसड इरासमस दुई र बर्नाड स्कल्ट्जले एक विकेट लिए।
टी-२० विश्वकपको इतिहासमा पहिलो पटक एउटा इनिङ्समा छ विकेट एलबिडब्लुबाट लिइएको आईसीसीका कमेन्टेटरले बताएका छन्।
जेठ २१, २०८१ सोमबार १०:०१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।