अन्तिम ओभरमा पाँच रन ल्याउन नसक्दा नामिबिया र ओमानबीचको खेल सुपरओभरमा

अन्तिम ओभरमा पाँच रन ल्याउन नसक्दा नामिबिया र ओमानबीचको खेल सुपरओभरमा

काठमाडौं : आईसीसी टी२० विश्वकप नामिबिया र ओमानबीचको खेल सुपरओभरमा गएको छ।

ओमानले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले १०९ रन मात्र बनाउन सक्यो।

उसका लागि जन फ्रिलिंकले ४५, निकोलस डेभिनले २४, जेरार्ड इराशमसले १३, जेजे स्मितले ८ रन बनाए।

ओमानका मेहरान खानले तीन तथा आकिब इलियास, आयान खान र बिलाल खानले समान विकेट लिए। अन्तिम ओभरमा जितका लागि पाँच रन ल्याउनुपर्ने थियो।

तर, पहिलो बलमा विकेट, दोस्रो डट र तेस्रो बलमा मेहरानले विकेट लिए। त्यसपछि पनि नामिबियालाई जितको लागि तीन बलमा पाँच रनकै आवश्यकता थियो।

चौथो बलमा एक र पाँचौं बलमा दुई रन लिएपछि जितका लागि १ बलमा दुई रन आवश्यक हुन्छ तर डेभिड विसेले एक रन मात्र लिन सक्छन्। त्यसपछि स्कोर बराबरी हुन्छ।

त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङमा तानिएको ओमानले १९.४ ओभरमा १०९ रनमा अलआउट भएको थियो।

नामिबियाको बलिङमा ओमानका टपअर्डर ब्याटर टिक्नै सकेनन्। ओपनर कश्यप प्रजापति पहिलो बलमै आउट भए। उनलाई रुबेल ट्रम्पलम्यानले एलबिडब्लु आउट गरे।

त्यसपछि नसीम खुसी र कप्तान आकिब इलियासलाई पनि उनै ट्रम्पलम्यानले आफ्नो बलिङमा फसाए। जीसान मक्सुद र खालिद केलले २७ रनको साझेदारी गरे भने त्यसपछि केल र आयान खानले ३१ रनको साझेदारी गरे।

त्यसक्रममा मक्सुदले २२, केलले ३४ र आयान खानले १५ रन बनाए। त्यसबाहेक सकील अहमदले ११ रन जोड्दा बाँकी खेलाडीले दोहोरो अंकम रन बनाउनै सकेनन्।

नामिबियाका ट्रम्पलम्यानले चार विकेट लिँदा डेभिड विसेले तीन तथा जेसड इरासमस दुई र बर्नाड स्कल्ट्जले एक विकेट लिए।

टी-२० विश्वकपको इतिहासमा पहिलो पटक एउटा इनिङ्समा छ विकेट एलबिडब्लुबाट लिइएको आईसीसीका कमेन्टेटरले बताएका छन्।

जेठ २१, २०८१ सोमबार ०९:३९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।