बाउले अर्धशतक बनाउँदा पनि पीएनजी पराजित, वेस्ट इन्डिज पाँच विकेटले विजयी

बाउले अर्धशतक बनाउँदा पनि पीएनजी पराजित, वेस्ट इन्डिज पाँच विकेटले विजयी

काठमाडौं : आईसीसी टी२० विश्वकप क्रिकेटको दोस्रो खेलमा वेस्ट इन्डिजले पपुवा न्यूगिनी (पीएनजी)लाई पाँच विकेटले हराएको छ।

गुएनाको प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनायो।

उसका लागि सेसे बाउले अर्धशतक बनाए। ४३ बलको सामना गरेका उनले ६ चौका र एक छक्काको मद्दतमा ५० रन जोडे।

किप्लिन डोरिगाले १८ बलमा २७ रनको नटआउट पारी खेल्दा अन्य खेलाडीको प्रदर्शन सम्झनलायक भएन।

वेस्ट इन्डिजका आन्द्रे रसल र अल्जारी जोसेफले दुई–दुई विकेट लिँदा अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेश मोटीले समान एक–एक विकेट लिए।

१३७ रनको जवाफी लक्ष्य पछ्याएको वेस्ट इन्डिजको टोलीको सुरुवात राम्रो हुन सकेन। जोनसन चार्ल्स पहिलो बलमै आउट हुँदा त्यसपछि आएका निकोलस पुरनले सम्हालिएर खेले। पुरन २७ रन बनाएर आउट हुँदा ब्रान्डन किंगले ३४ रन जोडे।

रस्टन चेसले २७ बलमा ४२ रन बनाएर नटआउट रहँदा रोभमन पवेल १५, सेरफेन रुथरफोर्डले दुई रन मात्र बनाए।

उता आन्द्रे रसलले नटआउट रहँदै ९ बलमा १५ रन बनाए। 

जेठ २१, २०८१ सोमबार ०७:२८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।