काठमाडौँ क्यान्सर सेन्टरको धूम्रपान विरोधी वाकाथन र फ्ल्यास मब

काठमाडौँ क्यान्सर सेन्टरको धूम्रपान विरोधी वाकाथन र फ्ल्यास मब

काठमाडौँ : काठमाडौँ क्यान्सर सेन्टरको धूम्रपान विरोधी दिवस २०२४ को अवसरमा वाकाथन र फ्ल्यास मबको आयोजना गरेको छ।

'सुर्ती उद्योगको हस्तक्षेपबाट बालबालिकाको सुरक्षा' भन्ने नाराका साथ आयोजित कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य थिए। अन्य अतिथिहरूमा ट्राफिक प्रहरी तथा नेपाल प्रहरीका प्रतिनिधिहरू र बनेपा- ८ का वडा अध्यक्ष उपस्थित थिए।

कार्यक्रममा विद्यार्थी, स्वास्थ्यकर्मी, सरोकारवाला नागरिकलगायत सयौँको सहभागिता थियो। वाकाथन लायकु बनेपाबाट बिहानै सुरु भएको थियो।

चिकित्सक, विद्यार्थी र स्थानीय नागरिक लगायतका सहभागीहरू धूम्रपान मुक्त विश्वको वकालत गर्दै ब्यानर र प्लेकार्ड बोकेर हिँडेका थिए।

चुरोट, खैनी जस्ता सुर्तीजन्य पदार्थबाट हुने हानिकारक असर र छाड्नुका फाइदाहरू समेटिएको जानकारीमूलक पोस्टरले रुट सजाइएको थियो।

कार्यक्रमको मुख्य आकर्षण केसीसी कर्मचारीहरूको समूहद्वारा गरिएको फ्ल्यास मब थियो। नृत्य र संगीतको माध्यमबाट सुर्तीजन्य पदार्थबाट टाढा रहनुको महत्त्वको बारेमा सन्देश दिइएको थियो।

केसीसीका निर्देशक डा. सीमित सापकोटाले कार्यक्रममा उपस्थित सबैलाई सम्बोधन गर्दै क्यान्सर र अन्य सम्बन्धित रोगको प्रकोपलाई कम गर्न चुरोट, खैनी आदिको प्रयोग विरुद्ध लड्नुपर्ने र युवाहरूलाई सुर्तीजन्य पदार्थको जोखिमबारे जानकारी गराउनु र सुर्तीमुक्त पुस्ताको विकास गर्नु अबको उद्देश्य हुनुपर्नेमा जोड दिए।

उनले धूम्रपान नियन्त्रण अभियानमा सहयोग गर्न र स्वस्थ जीवनशैली अपनाउन समुदायलाई आग्रह गरेका थिए।

जेठ २०, २०८१ आइतबार २२:४५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।