कान्तिपुरका सिबीको ठगी बायोडाटा : समाचार सङ्कलकदेखि दुई सहकारीको अध्यक्षसम्म

कान्तिपुरका सिबीको ठगी बायोडाटा : समाचार सङ्कलकदेखि दुई सहकारीको अध्यक्षसम्म

काठमाडौँ : काठमाडौँ उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयको बबरमहलमा रहेको कार्यालयमा हातमा रहेको हत्कडी देखाउन लाज लागेछ सहकारीमा रहेका साना बचतकर्ताहरूको रकम अपचलनका आरोपी चन्द्रबहादुर लामा उर्फ सिबी लामालाई।

पत्रकारमाझ सार्वजनिकहुँदा उनले टाउकाको रातो टोपी फुकालेर हातको हत्कडी छोप्न खोजे। जसरी सहकारीका बचतकर्ताको रकममा रजाइँ गरेको अपराध लुकेन, त्यसरी नै उनको हातमा लागेको हत्कडी पनि लुकेन। देब्रे हातको हत्कडी छोप्दा दाहिनेतिरको ह्वाङै देखिएको थियो।

तै पनि उनमा पक्राउ परेकोमा त्यस्तो पछुतो देखिएन। अनुहार चिनिने गरी खिच्ने हो भने मास्क खोलिदिन्छु भन्दै पत्रकारहरूलाई आफूले ८-९ अर्ब ठगी गरेको पुष्टि गर्न चुनौती दिइरहेका थिए।

कान्तिपुर अनि पशुपति कान्तिपुर सेभिङ एन्ड क्रेडिटको अध्यक्ष भएर अहिले एक अर्ब ५३ करोडको ठगीको बिगो देखिएका उनी विरुद्ध उजुरी आउने क्रम जारी छ प्रहरी कार्यालयमा। चारमध्ये तीन वटा बैङ्किङ कसुर सम्बन्धी मुद्दामा फरार सूचीमा रहेका उनी २०८० फागुन २० बाट फरार सूचीमा थिए।

काठमाडौँ जिल्ला अदालतले पक्राउ आदेश जारी गरेसँगै फरार रहेका काभ्रे तेमाल-५ का उनी चितवनको भरपुर क्षेत्रमा लुकेर बसेको अवस्थामा फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिएका थिए।

एसएसपी भट्टराइका अनुसार सिबीविरुद्ध अहिलेसम्म प्रहरी वृत्त नयाँबानेश्वरमा कान्तिपुर सेभिङ एन्ड क्रेडिटका ८ सय ५२ बचतकर्ताको उजुरी परेको छ। यो बिचमा सय जना जाहेरीकर्ता थपिएको र जाहेरी अनुसार हालसम्म एक अर्ब ५१ करोडको बिगो देखिएको उनले जानकारी दिए।

पशुपति सेभिङ एन्ड क्रेडिटका ५४ जना बचतकर्ताले प्रहरीमा नभई सहकारी विभागमा उजुरी दिएका छन्। उनीहरूको बिगो १२ करोड देखिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पशुपतिको फाइल भने केन्द्रीय अनुसन्धान ब्युरोमा अनुसन्धानका लागि पठाएकाले उतैबाट अनुसन्धान भइरहेको एसएसपी भट्टराइले जानकारी दिए।

सिबीको ठगी बायोडाटा : समाचार सङ्कलकदेखि दुई सहकारीको अध्यक्षसम्म

प्रहरीले आइतबार पत्रकार सम्मेलनमा सिबीको ठगी यात्राबारे समेत खुलाएको थियो। एसएसपी भट्टराइका अनुसार प्रहरीको अनुसन्धान अनि उनैले खुलाए अनुसार यो बायोडाटा तयार भएको हो।

प्रहरीका अनुसार २०४९ सालमा लामा वोसिन मिडिया एड्भर्टाइजिङमा समाचार सङ्कलनको काम गर्थे।  एड्भर्टाइजिङ कम्पनीमा कस्ता खालको समाचार सङ्कलनको जिम्मेवारी हो त्यो भने प्रहरीले खुलाएन।

त्यसपछि २०५२ भदौ मा आएर उनी सरकारी कर्मचारी बन्छन्। उनले स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर पदमा आठ महिना काम गरेर राजीनामा दिएको जानकारी दिएको भट्टराइले खुलाए।

त्यसपछि एकाएक उनको प्रवेश सहकारीमा हुन्छ। २०५५ मा उनले आफू अध्यक्ष भएर कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी खोल्छन्। कान्तिपुरले छोटो समयमै बचतकर्ताहरू आकर्षित गर्न सफल हुन्छ।

उनी २०५५ देखि २०७६ सम्मै २१ वर्षसम्म लगातार कान्तिपुर सहकारीको अध्यक्ष पदमा रहन्छन्। यही बेलामा हो उनको आर्थिक हैसियत ह्वात्तै बढेको। त्यही आर्थिक हैसियतले उनी झन्डै बागमती प्रदेशको प्रदेश सांसद चुनिएका थिए। कांग्रेसबाट काभ्रेमा उम्मेदवार बनेका उनी धन्न हार्छन्।

२०५५ मै उनले आफ्नो अध्यक्षतामा पशुपति सेभिङ एन्ड क्रेडिट गठन गर्छन् र अध्यक्ष बन्छन्। त्यो बेलामा एकै व्यक्ति दुई सहकारीको अध्यक्ष हुन नपाउने सरकारी नीति आएपछि आफूले कान्तिपुरबाट राजीनामा दिएको उनको दाबी छ।

यो बिचमा सहकारीमा रहेको बचतकर्ताहरूको रकम दुरुपयोगको शृङ्खला सुरु गर्दै उनले कान्तिपुर अस्पताल खोल्छन्। कान्तिपुर एकेडेमी तथा साइन्सेस खोल्छन्। रिसोर्टदेखि रेस्टुरेन्टसम्म अनि कलेजसम्म उनको लगानी फैलिन्छ।

काठमाडौँ, भक्तपुर, काभ्रे लगायतका जिल्लामा ४ सय रोपनीभन्दा बढी जग्गा जोड्छन्। उनी ललितपुरको बालकुमारीमा रहेको वेष्टन अपार्टमेन्टमा बस्न थाल्छन्।

बचतकर्ताको रकममा मस्ती गर्दै आर्थिक रूपमा सम्पन्न जीवन चलाइरहेका उनको ठगी यात्रा कोरोनाले डुबाउँछ। बचतकर्ताको रकम गैर कानुनी रूपमा लगानी गरेका जग्गाको विक्री ठप्प हुन्छ। व्यवसायमा मन्दी आउँछ। आर्थिक समस्यामा पर्न थालेपछि जब बचतकर्ताहरू आफ्नो बचत माग्न जान्छन् सहकारीका कर्मचारीले फिर्ता गर्न आनाकानी गर्छन्।

एकपछि अर्को सहकारीमा भएको ठगी खुल्दै गएको बेलामा आफ्नो बचत सहज रूपमा नपाएपछि शङ्का लाग्ने नै भयो। बचत रकम फिर्ता नपाएपछि जब बचतकर्ताहरू प्रहरीमा उजुरी लिएर पुग्छन् उनी अपार्टमेन्टको आरामदायी जीवन छाडेर फरार हुन बाध्य हुन्छन्।

प्रहरीमा परेको जाहेरीमा डेढ अर्ब खुले पनि दुवै सहकारीमा रहेका बचतकर्ताहरूको रकम आठ अर्ब माथि देखिन्छ।

हालै संसदले गठन गरेको सहकारी सम्बन्धी अध्ययन गर्ने उच्चस्तरीय समितिको सूचीमा समेत उनी संलग्न सहकारीको नाम उल्लेख छ।

जेठ २०, २०८१ आइतबार २१:०७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।