सवारी नियम उलङ्घन गर्नेलाई स्वयंसेवक नबनाउन सर्वोच्चको अन्तरिम आदेश

सवारी नियम उलङ्घन गर्नेलाई स्वयंसेवक नबनाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ : ट्राफिक नियम उलङ्घन गर्ने चालकलाई जरिवानासँगै  सडकमा एक घण्टा स्वयंसेवक बनाएर खटाउने गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

आइतबार भएको सुनुवाइमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

गणतन्त्र दिवसको दिन गृहमन्त्री लामिछानेले रजस्वला भएको समयमा महिला ट्राफिक प्रहरीलाई चार दिन बिदा दिने र मापसे लगायतका सवारी नियम उलङ्घन गर्ने चालकलाई स्वयंसेवकका रूपमा सडकमा खटाउने निर्णय गरेका थिए।

यातायात व्यवस्था ऐनमा जरिवाना हुने तर शारीरिक श्रमको सजायको प्रावधान नभए पनि गृहमन्त्रीले स्वैच्छिक रूपमा आम नागरिकलाई श्रम सजाय तोकेको भन्दै उनको तीव्र आलोचना भइरहेको थियो।

कानुन नभए पनि गृहमन्त्रीको निर्देशन भन्दै प्रहरीले सवारी नियम उलङ्घन गर्नेहरूलाई गैर कानुनी रूपमा एक घण्टा सडकमा स्वयंसेवक बनाएर परिचालन गरेको थियो। गृहमन्त्रीको निर्देशन विरुद्ध कृष्ण विकलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए।

जेठ २०, २०८१ आइतबार १८:५०:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।