गगनलाई मनिष झाको जवाफ : 'बाँसबारी, गिरीबन्धु र बाल मन्दिरको फाइल खोलिनेछ'

गगनलाई मनिष झाको जवाफ : 'बाँसबारी, गिरीबन्धु र बाल मन्दिरको फाइल खोलिनेछ'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गिरीबन्धु, बाँसबारी जग्गा सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्ने बताएको छ।

आइतबारको प्रतिनिधिसभामा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सह-प्रवक्ता तथा सांसद मनिष झाले बाल मन्दिर, बाँसबारी र टीकापुर जग्गा प्रकरणलगायतका फाइल पनि खोल्ने बताए। 

‘बाल मन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरीबन्धु र टेरामक्सलगायत सबैको फाइल हामी खोल्न चाहन्छौं,’ उनले भने। 

विगतमा यि विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको भन्ने जवाफ पाएको उनको दाबी छ। 

उनले कांग्रेस महामन्त्री गगन कुमार थापालाई राजनीतिमा क्रेडिट, कपीराइट दल वा व्यक्ति विशेषको नहुने जवाफ पनि फर्काए। विशेष समयमा बोलेका थापाले आफ्नो दलमाथि सबै राजनीतिक अवस्था र व्यवस्था बिगारेको आरोप लगाउन खोजेको सांकेतिक प्रहार रास्वपामाथि गरेका थिए। 

रास्वपा राजनीतिमा आएको २३ महिना, सदनमा १७ महिना र सरकारमा आएको १२२ दिन भएको गन्ती गर्दै भने, ‘केही दल र दलका अग्रजहरूले तिमीहरूले बिगारेको भन्ने र पन्छिने अवस्था देखिन्छ  आज पनि देखियो।’

झाले राजनीतिले धेरै ‘कोर्ष’ परिवर्तन गरेको उल्लेख गर्दै अब  ‘करिकुलम’ पनि परिवर्तन गर्न जरुरी भएको बताए। 

‘कक्षा–५ को किताब पढेर एसईई पास भइँदैन। व्यवस्था परिवर्तन भयो, अवस्था अलिअलि परिवर्तन भयो। सबै परिवर्तन मैले गर्दा भयो भनेर क्रेडिट लिन सकिन्न। राजनीतिमा दुईवटा कुरा भन्न सकिँदैन, कपीराइट र क्रेडिट’, झाले भने।  

जेठ २०, २०८१ आइतबार १४:४३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।