संसदमा प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई गगनको आक्रोश र चुनौती, तर सत्तापक्ष मौन

संसदमा प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई गगनको आक्रोश र चुनौती, तर सत्तापक्ष मौन

काठमाडौं : लामो समयको अवरोधपछि खुलेको आइतबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री गगन थापाको लामै आक्रोश देखियो। 

संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा महामन्त्री थापाले विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि गृहमन्त्री रवि लामिछानेसम्मलाई प्रश्न गरे। सत्तापक्षलाई आफूहरूमाथि लगाइएका आरोपहरू प्रमाणित गर्न र छानबिन गर्न चुनौती नै दिए।

रातो पासपोर्टदेखि टिकापुर जग्गा प्रकरण हुँदै 'विदेशी एजेण्ट'सम्मको आरोपहरू छानबिन गरेर कारबाही गर्न उनले सरकार पक्षलाई चुनौती दिएका थिए। 

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री लामिछानेले ‘देशको सूचना बेच्ने एजेन्ट’ भएको सङ्केत गर्दै आफूविरुद्द  दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने बताए। उनले भने, 'गृहमन्त्रीले यो संसदमा सूचना बेच्ने मान्छे पनि छ। संसदमा सूचना बेच्ने मान्छे छ भने त्यो देशद्रोही हो। त्यसलाई सदनबाट निकाल्ने मात्र होइन। त्यसलाई गिरफ्तार गर्नुपर्छ। देशद्रोहको मुद्दा लगाउनुपर्छ। थुन्नुपर्छ।'  

महामन्त्री थापाले गृहमन्त्री लामिछानेले सदनभित्र विषय डाइभर्ट गर्न बोलेका विषयमा जिम्मेवारी लिनुपर्ने भन्दै सभामुख देवराज घिमिरेलाई सांसद र मन्त्रीलाई सभाप्रति मर्यादित बनाउन आग्रह गरे। सहकारी ठगी प्रकरण मोड्नलाई गृहमन्त्री लामिछानेले हुँदै नभएको विषयमा अभिव्यक्ति दिएको उनको भनाइ छ। 
 
उनले ‘आत्महत्या गरे पनि समिति बन्दैन, हाम्रो सभापतिले गल्ती गरे सबै सती जान्छौँ, तर प्रमाण नभए झुन्डिन तयार हो?’ भन्नेजस्ता विषय सुनेको भन्दै सदन चटक देखाउने ठाउँ नभएको र सदनबाहिर पनि संसदीय गरिमा हुनुपर्ने बताए। 

उनले गृहमन्त्रीले सोबारे जवाफ नदिए प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा जोड दिँदै भने, 'सदन चटक देखाउने ठाउँ होइन। पोस्ट ट्रुथ पोलिटिक्सको जुन खालको क्यारेक्टर हुन्छ त्यो अहिलेसम्म सदनमा आएको थिएन। यो पटक सदनमा छिराउने कोसिस गरियो। विषयवस्तुबाट बरालिएर अर्कोतिर लैजानको लागि सदनको मन्त्रीले गरेको कार्य डरलाग्दो छ। पछि पनि हुनसक्छ।'

उनले थपे, 'सदनमा एउटा विषयवस्तु आउँदैगर्दा प्रश्नबाट बच्न सरकारका प्रधानमन्त्री र मन्त्रीले सबै यसै गर्न थाले भने सदन कहाँ पुग्छ? कांग्रेस यो कुरामा प्रष्ट हुन चाहन्छ। सदनमा जुन कुरा भनियो, जुन कुरा सुनियो कि प्रधानमन्त्रीले अर्न गर्नुस्, तपाईंसँगै हिसाबकिताब गरौंला। होइन भने, प्रधानमन्त्रीले त्यो कुरालाई रेकर्डबाट हटाउँछु भन्नुपर्छ। होइन भने यही सदनमा प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ।'

सहकारी ठगी प्रकरणमा समितिको काम नगर्दासम्म आफूहरूले कांग्रेसका सांसदलाई सदनमा नबोल्न आग्रह गरेको बताएका थापाले सहकारी प्रकरणमा एमालेको स्ट्याण्ड र सरकारको काम कांग्रेसले केही समय चुपचाप हेर्नेमा जोड दिए।

महामन्त्री थापाले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा गृहमन्त्रीको नाम राख्न नसकिए पनि उनी छानबिनको दायराबाट बाहिर नरहेको भन्दै उक्त समितिले गृहमन्त्री लामिछानेदेखि महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत बयानका लागि बोलाउनुपर्ने बताए। 

थापाले भने, ‘यो छानबिन समितिले सहकारीबाट गोरखा मिडियामा गएको रकमबारे छानबिन गर्नेछ। एक रूपैयाँ गए पनि एक करोड गए पनि त्यो गैरकानूनी नै हो। गोरखा मिडियाको मालिका जीबी हुन् कि छबि हुन् कि रवि हुन्। जो भए पनि समितिले बोलाउँछ र कानूनबमोजिम कारबाहीको सिफारिस पनि गर्छ । समितिका साथीहरूबाट यही भूमिकाको अपेक्षा हामीले गरेका छौं।’

उनले कांग्रेसले सदन अवरोध गरेका दिनको आफूहरू सरकारका काममा सघाएर क्षतिपूर्ति दिन तयार रहेको पनि जिकिर गरे।  प्रमुख प्रतिपक्ष दलका रूपमा महामन्त्री थापाले सत्तापक्षलाई चुनौतीका चाङहरू थुपार्दा सत्तापक्ष भने निरीह बनेको देखियो।

गगनपछि बोलेका एकीकृत समाजवादीका सांसद दामोदर पौडेलले गगन लक्षित 'संसदमा दयाको समय चाहिँदैन' भनेको विषयले संसदको मर्यादा घटाएको जिकिर गरे भने एमाले अध्यक्ष केपी ओली र कांग्रेस उपसभापति धनराज  गुरुङबीच संसद्मा ठेलमठेल भएको प्रसंगमा पनि प्रश्न गरे।  

त्यसपछि भने सत्तापक्षको तर्फबाट माओवादीका माधव सापकोटाले बोलेका थिए। उनले जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्यूनीकरणको सम्बन्धमा संसद्ले पनि आफ्नो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्नुपर्ने बताए। 

रास्वपाका सांसद मनीष झाले महामन्त्री थापालाई राजनीतिमा क्रेडिट र कपीराइट दल वा व्यक्ति विशेषको नहुने जवाफ दिए।

उनले थापाले बोल्ने क्रममा आफ्नो दलमाथि सबै राजनीतिक अवस्था र व्यवस्था बिगारेको आरोप लगाउन खोजेको सांकेतिक रूपमा उल्लेख गरे। आफ्नो दल राजनीतिमा आएको २३ महिना, सदनमा १७ महिना र सरकारमा आएको १२२ दिन भएको भन्दै उनले भने, 'केही दल दलका अग्रजहरूले तिमीहरूले बिगारेको भन्ने र पन्छिने अवस्था देखिन्छ। आज पनि देखियो।' 

जेठ २०, २०८१ आइतबार १३:१९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।