‘गाउँ आएको बाटो’मा ‘राई माइला’ले गाउँ छोडेको कथा
काठमाडौं : दयाहाङ राई अभिनित फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत सार्वजनिक भएको छ। निर्माण टिमले शनिबार फिल्ममा समावेश ‘राई माइला’ बोलको गीत रिलिज गरेको हो।
गीतमा श्रवण मुकारुङको शब्द रचना, कालीप्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङका अलावा पशुपति राई, बालकलाकार प्रसन राईलाई फिचर्ड गरिएको छ। गीतमा समावेश दृश्यले फिल्मको कथालाई देखाउने कोसिस गरेको देखिन्छ।
नेपालको पुर्वी जिल्ला भोजपुरको चोयाका विभिन्न सामग्री निर्माण गर्ने र बेच्ने एक माइला र उसको छोराको चाहनामा कथा बुनिएको छ। राई समुदायका बाबुछोराको स्नेही सम्बन्ध र खुसीलाई गाउँ आएको मोटरले संकटमा पार्छ। जुन फिल्मको ट्रेलरदेखि यो गीतमा पनि समावेश गरिएका दृश्यभावले छर्लङ्ग पार्ने कोसिस गरेको छ।
छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ)कै वरिपरी घुमेको फिल्मको कथाले सडकसँगै गाउँ आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन लगायत छिमेकीसँगको सम्बन्धका बारेमा हुने चताढचढावलाई फिल्मको कथा र गीतको भिज्युलमा राखिएको छ।
नविन सुब्बा निर्देशित यो गीतको भिडियोलाई निर्देशक सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्।
‘नुमाफुङ’ जस्तो फरक धारको फिल्म निर्माण गरेर प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो फिल्म हो। उनको दोस्रो सिनेमा ‘गुडबाई काठमाडौं’ रहेको थियो जुन सार्वजनिक प्रदर्शनमा आएको छैन। निर्माण पक्षले यो फिल्म छिट्टै प्रदर्शन गर्ने तयारीमा रहेको निर्देशक सुब्बाको भनाई छ।
२० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको यो फिल्म यही जेठ २५ गतेदेखि नेपालभर प्रदर्शनमा हुँदैछ।
मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्मलाई अमोद राई र निर्देशक सुब्बा आफैले लगानी गरेका हुन्।
यस फिल्मको पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन्।
जेठ २०, २०८१ आइतबार १२:२४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।