बंगलादेशी सांसदको हत्या आरोपी हुसेन काठमाडौंबाट पक्राउ, अन्य आरोपी पनि नेपाल आएको आशंका

बंगलादेशी सांसदको हत्या आरोपी हुसेन काठमाडौंबाट पक्राउ, अन्य आरोपी पनि नेपाल आएको आशंका

एजेन्सी : बंगलादेशका सांसद अनवारुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्। हत्याका मुख्य आरोपी सियाम हुसेनलाई काठमाडौंबाट पक्राउ गरिएको बंगलादेशी संचार माध्यम ढाका ट्रिब्युनले जनाएको छ।

उपचारका लागि मे १२ मा भारत पुगेका सांसद अनार भोलिपल्टदेखि नै सम्पर्कविहीन बनेका थिए। भारतीय प्रहरीलाई उद्धृत गर्दै मे २२ मा बंगलादेश सरकारले उनको मृत्युको पुष्टि गरेको थियो।

नेपालबाट पक्राउ परेका भनिएका हुसेन सांसदको हत्या लगत्तै काठमाडौं गएको हल्ला चलेको थियो। उनी गत बिहीबार नै पक्राउ परेको समाचारमा उल्लेख छ।

हुसेनको सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल गरिरहेको जनाइएको छ।

ढाका महानगरीय प्रहरीको डिटेक्टिभ ब्रान्च (डीबी)को चार सदस्यीय टोली शनिबार बिहान नै ढाकाबाट काठमाडौंतर्फ प्रस्थान गरेको ढाका ट्रिब्युनको समाचारमा उल्लेख छ।

डीबीका प्रमुख अतिरिक्त कमिस्नर हारुनोर रशिदले आफूहरूले हुसेनलाई नेपालमा पक्राउ गरेको जानकारी पाएको बताएका छन्। सांसद अनारको हत्यामा संलग्न रहेको आरोप लागेका अन्य अभियुक्त पनि हत्यापछि नेपाल आएको आशंका गरिएको छ।

सांसद अनार प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका सांसद थिए। उनले २०१४, २०१८ र २०२४ मा झेनैदह–४ बाट चुनाव जितेका थिए। 

जेठ २०, २०८१ आइतबार ०९:४२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।