आईसीसी टी-२० विश्वकप : पहिलो खेलमा क्यानडालाई हराउन अमेरिकाले पायो १९५ रनको लक्ष्य
काठमाडौं : आजदेखि सुरू भएको आईसीसी टी-२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ।
अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको हो।
क्यानडाले सुरुआत उत्कृष्ट गरेको थियो। पहिलो विकेटका लागि आरोन जोनसन र नभनित धलिवालले ४३ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको रुपमा जोनसन १६ बलमा २३ रन बनाएर आउट भए। उनले पाँच चौका प्रहार गरे।
त्यसपछि क्रिजमा आएका प्रगत सिंह भने रनआउटको सिकार भए। उनले ७ बल फेस गर्दा ५ रन जोडेका थिए।
नभनित र निकोलस कृटोन मिलेर क्यानडाको पारि अघि बढाए। यी दुई खेलाडीबीच ३७ बलमा ६२ रनको साझेदारी भएपछि क्यानडाले सहजै १०० रन कटाएको थियो। तेस्रो विकेटको रुपमा नभनित अर्धशतकीय पारि खेल्दै आउट भए। उनले ४४ बल फेस गर्दा तीन छक्का र ६ चौका प्रहार गरे।
१७.५ ओभरमा टिमको स्कोर १५९ रन हुँदा क्यानडाले चौथो विकेट गुमाएको थियो। निकोलस कृटोन ३१ बलमा ५१ रनको अर्धशतकीय पारि खेल्दै आउट भए। उनले दुई छक्का र तीन चौका प्रहार गरे। अन्त्यमा श्रीयस मोभा र दिलप्रित बजवाले क्यानडाको टोलीलाई बलियो स्कोरमा लैजाने प्रयास गरेका थिए। तर, बजवा ५ बलमा ११ रन बनाएर रनआउट भएपछि क्यानडाले १९ औं ओभरमा पाँचौं विकेट गुमाउन पुग्यो।
क्यानडाले १९ ओभरमा ५ औं विकेट गुमाउँदा १७३ रन बनाएको थियो।
क्रिजमा आएका डिलोन हेलिगरले श्रीयसलाई साथ दिए। यी दुई खेलाडीले ७ बलमा २३ रनको नटआउट साझेदारी गरेपछि क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो। श्रीयस १६ बलमा ३२ तथा दिलप्रित ५ बलमा ११ रन बनाएर आउट पारि खेले।
अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एक एक विकेट लिए।
प्रतियोगितामा कुल २० टोलीको सहभागिता छ। जहाँ प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूह रहनेछन्।
प्रतियोगिताको यस संस्करणमा नेपाल पनि छनोट भएको छ। समूह ‘डी’मा रहेको नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन्।
टी-२० विश्वकपको नवौँ संस्करण जुन २९ तारिखसम्म सञ्चालन हुनेछ।
जेठ २०, २०८१ आइतबार ०८:३४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।