संकटमा माधव : सत्ता गठबन्धन छोड्दा पार्टी फुट्ने डर, नछोड्दा ओली-प्रचण्डले बालै दिदैनन्

संकटमा माधव : सत्ता गठबन्धन छोड्दा पार्टी फुट्ने डर, नछोड्दा ओली-प्रचण्डले बालै दिदैनन्

काठमाडौं : गएको बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा अरू विपक्षी दलका नेताहरूलाई परामर्शमा बोलाए। सहकारी ठगी प्रकरणका आरोपी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने मागदेखि नै एकजुट भएका विपक्षी दलहरू त्यस बैठकमा सहभागी थिए। देउवाको निम्तोमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए। 

तर, त्यस बैठकमा आश्चर्य तब भयो जब सत्ता गठबन्धनका नेता माधवकुमार नेपालले पनि त्यहाँ सहभागी भए। मधेशमा सरकार निर्माणबारे छलफल गर्ने भनिएको त्यस बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालको उपस्थिति निकै महत्वपूर्ण थियो। प्रतिनिधि सभामा १० सिट रहेको एकीकृत समाजवादीले साथ छोड्नासाथ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई धक्का लाग्ने पक्कापक्की छ। त्यसको बाछिटा प्रदेश सरकारहरूमा समेत पर्ने देखिन्छ। 

त्यसैले पनि हुनुपर्छ, अध्यक्ष नेपाल बुढानिलकण्ठबाट निस्किएर कोटेश्वर निवास प्रवेश नगरुन्जेल राज्यका तमाम संयन्त्र परिचालित भए, गृह प्रशासनले ढुक्कले श्वास पनि लिएन। अनि प्रधानमन्त्री प्रचण्डले फोन गरेर अध्यक्ष नेपालको हालखबर सोधेपछि मात्र राजनीतिक कम्पन केही मत्थर भयो। तर, सत्ता गठबन्धनभित्र गएको राजनीतिक भुकम्प यत्तिले मात्रै रोकिएन। प्रधानमन्त्रीले एकीकृत समाजवादीका सम्मानित नेता  झलनाथ खनाललाई बोलाएर स्पष्टीकरण सोधेपछि मात्र प्रधानमन्त्री प्रचण्ड अनि सत्ता गठबन्धन ढुक्क भयो। 

यतिसम्म कि विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सदाझैं उपस्थित सम्वाददाताहरुसँग स्पष्टीकरण नै दिनुपर्यो। उनले अध्यक्ष नेपालले आफूलाई वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने स्पष्ट गरेको भनेर प्रस्ट्याए।

प्रधानमन्त्रीले भनेका थिए, ‘माधवजीको व्यवहार केही पहिलादेखि प्रतिपक्षसँग पनि र सत्ता पक्षसँग पनि जोडिने जस्तो देखिएको थियो, आज बिहान (बिहीबार) मसँग कुरा हुँदा माधवजी वर्तमान समीकरणभन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लिएर गर्नु भएको छ।’

माधव नेपाल आफैं संकटमा 
फागुन २७ गते प्रचण्डले आफूसँग सल्लाह नै नगरी गठबन्धन फेरेको भन्दै नेपाल त्यसैबेलादेखि असन्तुष्ट छन्। त्यसपछि प्रचण्ड नेतृत्वको सरकारमा नजाने भन्दै 'मान' खोजेर बसेका नेपाल अहिलेसम्म पनि सत्ता गठबन्धनमा  मान बिना नै टिकिरहेका छन्। तर, सत्ता गठबन्धनमा ओली-प्रचण्डको हेपाइ सहेर बस्नुपरेका अध्यक्ष नेपालको आफ्नै पार्टीभित्र संकट छ। आफ्नो सत्ता बचाइराख्न भर्खरै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाइदिएका ओली-प्रचण्डले एकीकृत समाजवादी पनि फुटाइदेलान् भन्ने डर उनमा छँदैछ। त्यसको संकेत पनि देखिरहेकै छ। 

सत्ता समीकरणमा असन्तुष्ट अध्यक्ष नेपाल कांग्रेससँग निरन्तर संवादमा छन्। तर, सम्मानित नेता खनाल भने यही गठबन्धनलाई अघि बढाउने पक्षमा छन्। त्यतिमात्र होइन, सांसदहरू पनि दुई धारमा छन्। किसान श्रेष्ठ, प्रेम आले लगायतका सांसदहरू गठबन्धनमै बस्न चाहिरहेका मात्र होइन, एमालेमै फर्किन चाहेको विषय नौलो रहेन। तर, राजेन्द्र पाण्डे, मेटमणी चौधरी लगायतका सांसदहरू गठबन्धनमा बस्ने पक्षमा छैनन्। त्यसैको कारण पनि अध्यक्ष नेपाललाई सत्ता गठबन्धन निल्नु न ओकल्नु भएको छ। उनी आफैं भने गठबन्धन छोड्ने पक्षमा भए पनि पार्टीभित्रको दुई धारको कारण उनी त्यहीँ अल्झिन बाध्य भएका हुन्। 

गठबन्धनभित्र माधव नेपालका कारण तनाव !
त्यसो त अहिलेको गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओली हाबी भएपछि त्यसको छायाँमा परेका हुन्, अध्यक्ष नेपाल। प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डदेखि गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसम्म ओलीकै इसारामा चलेपछि माधव नेपाललाई बेवास्ता भएको हो। 

२ महिना लामो समय चलेको संसद अवरोध र सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे समेत सत्ता घटक दलको नेताका रुपमा छलफलमै सहभागी नगराइएपछि अध्यक्ष नेपाल रुष्ट बनेका हुन्। केही प्रदेशहरूमा निर्णायक शक्तिको रुपमा रहेको दल एकीकृत समाजवादीलाई ओली-प्रचण्डले वास्तै गर्न छोडेपछि उनले सुदूरपश्चिम सरकारमा च्याखे थापेर अहिले उनको पार्टीले प्रदेश सरकारको नेतृत्व गरिरहेको छ। त्यसैको निरन्तरतास्वरुप विपक्षी दलहरूसँग हिमचिम बढाएपछि उनको कारण अहिले ओली-प्रचण्ड हैरानीमा छन्। 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बुढानिलकण्ठ बैठककै बारेमा पार्टी नेता र कार्यकर्ताहरूलाई आश्वस्त पार्नुपर्यो। उनले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउँदै सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न निर्देशन नै दिए। 

वर्तमान सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए। जवाफमा प्रधानमन्त्रीले भनेका थिए, ‘सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ।’

एमालेको त संसदीय दलको बैठकमै यस विषयले प्रवेश पायो। पछिल्लो समय सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रतिपक्षी दलहरूसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरङ्ग पैदा भएको विषयमा छलफल गर्न एमालेको संसदीय दलको बैठक बसेको हो।  

जेठ १९, २०८१ शनिबार १९:३५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।