३६ वर्षीय सर्जन डा. आकृतिको उपचार अनुभव : फोक्सो नै क्षतविच्छेद भएका युवालाई घर पठाएपछि...

३६ वर्षीय सर्जन डा. आकृतिको उपचार अनुभव : फोक्सो नै क्षतविच्छेद भएका युवालाई घर पठाएपछि...

३६ वर्षीय डा. आकृति शर्मा कार्डियो थोरासिक एण्ड भास्कुलर सर्जरी (सिटीभिएस) विशेषज्ञ हुन्। उनी विशेषगरी फोक्सो (थोरासिक)को शल्यक्रियामा नै केन्द्रित भएर काम गर्छिन्। उनी अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छिन्।

सिटीभिएस विशिष्टिकृत (सुपरस्पेशलाइजेशन) तहको विद्यावारिधि सरहको अध्ययन हो। डा. आकृतिले कलिलै उमेरमा चिकित्सा शास्त्रको विशिष्टिकृत तहको यो अध्ययन गरिन्।

एमएस अध्ययनको समदेखि नै हिसाब गर्ने हो भने, डा. आकृति समेतको संलग्नतामा सामान्यदेखि जटिल (माइनर देखि मेजर) सम्मका एक हजार भन्दा बढी शल्यक्रिया भएका छन्। उनी आफैंले नेतृत्व लिएर पाँच सयभन्दा बढी फोक्सोसँग सम्बन्धित शल्यक्रिया गरेकी छन्। 

उनै डा. आकृतिले चिकित्सकीय पेसाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटेकी छन् :

000

घटना दुई वर्षअघिको मात्रै हो। करिब ४० वर्षका पुरुषलाई फोक्सोमा समस्या भयो। ती पुरुषलाई अस्पताल भर्ना गरेर शल्यक्रिया गर्नुपर्ने अवस्था थियो। चिकित्सकको टिमले सबै तयारी गरेर उनको फोक्सोको शल्यक्रिया गर्ने योजना बनायो। त्यसपछि शल्यक्रिया थालियो।  नभन्दै शल्यक्रिया सफल पनि भयो। केही समयको अस्पताल बसाइपछि ती पुरुष डिस्चार्ज भएर घर फर्के। 

तर, शल्यक्रिया गरेर घर फर्केको करिब दुई महिनामा कोरोना भाइरस संक्रमणको तेस्रो  (थर्ड वेभ) लहरमा ती पुरुष पनि कोरोना संक्रमित भएछन्। त्यसपछि उनी अस्पताल भर्ना भए। अस्पतालमा भर्ना भएका उनको कोरोना भाइरस संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। उनी चुरोट पनि सेवन गर्दा रहेछन्। अस्पताल भर्ना भएका ती पुरुषलाई चिकित्सकको टिमले बचाउन अथक  प्रयास गर्यो। तर, उनले कोरोना भाइरस संक्रमणलाई जित्न सकेनन्। कोरोना भाइरस संक्रमणले उनलाई जित्यो। 

अस्पतालमा उपचारकै क्रममा ती पुरुषले प्राण त्यागे।  

शल्यक्रियापछि स्वर नै नभएकी महिलाले बोल्न थालिन्
पक्षघातका कारण लामो समय भेन्टिलेटरमा राखेर उपचार गरिएकी महिलालाई शल्यक्रिया तथा औषधि  उपचार गरेर स्वर फर्काएको प्रसंग पनि डा. आकृतिको सम्झनामा छ।

प्रसंग करिब एक वर्षअघिको हो। ती महिलाको पक्षघात (ब्रेन ह्युमरेज) भएछ। त्यसैले उनलाई केही महिना भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको रहेछ। लामो समय भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्दा ती महिलाको श्वास नलीमा घाउ भएर साँघुरो भयो, जसले गर्दा उनको बोलि नै नआउने समस्या भयो। 

श्वासप्रश्वास नलीमा समस्या भएर स्वर नै नआएपछि ती महिलालाई मनमोहन कार्डियो भास्कुलर एण्ड थोरासिक सेन्टरमा पुर्याइयो। डा. आकृतिको टिमले अस्पताल पुर्याइएकी ती ति महिलाको साँघुरो भएको श्वासप्रश्वास नलीको शल्यक्रिया गरी काटेर खराब भाग निकाल्यो। अनि उनको टिमले ती महिलाको श्वासप्रश्वास नली जोडिदियो। शल्यक्रिया सफल भयो। महिलाको स्वर फर्कियो। महिला बोल्न सक्ने भइन्। ती महिला केही दिनको औषधि उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किइन्। 

स्वर फर्किने आशा नै मारिएकी ती महिलाको स्वर फर्काएर अस्पतालबाट डिस्चार्ज गरेको सम्झँदा अझै डा. आकृतिलाई आनन्द लाग्छ।

फोक्सो नै क्षतविच्छेद भएका युवालाई घर पठाएपछि...
मोटरसाइकल दुर्घटनामा परी घाइते भएका युवा उपचारका लागि ल्याइयो। करिव २५ वर्षीय युवाको स्वास्थ्य परीक्षण गर्दा फोक्सो क्षतविच्छद भएको थाहा भयो। उनको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। चिकित्सकको टिमले ढिला नगरी उपचार सुरू गर्यो। 

युवालाई भेन्टिलेटरमा राखेर उपचार थालियो। चिकित्सकको टिमले अथक मेहनत गरेर औषधि उपचार गरेपछि करिब दुई हप्तामा उनलाई अस्पतालबाट डिस्चार्ज गर्न सफल भएको डा. आकृतिले सुनाइन्। 

दुर्घटनामा परेर फोक्सो नै क्षतविच्छेद भएका ती युवालाई बचाएर घर पठाउन सफल भएको त्यो अवस्था सम्झँदा डा. आकृतिलाई अझै आनन्द लाग्छ।

६० वर्षे कोरोना संक्रमित पुरुषलाई बचाएर घर पठाएको  क्षण
कोरोना भाइरस संक्रमणले उग्र रुप लिइरहेको समयमा ६० वर्षका कोरोना संक्रमित पुरुषलाई उपचारपछि बचाएर घर पठाउन सफल भएको प्रसंग पनि डा. आकृति सम्झिरहन्छिन्। कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका ती पुरुषको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। पेसाले व्यवसाय गर्ने उनलाई बचाउन चिकित्सकको टिमले अथक मेहनत गर्यो। 

ती पुरुषलाई करिब डेढ महिना अस्पतालमा राखेर उपचार गरेको उनी सम्झन्छिन्। करिब डेढ महिनाको औषधि उपचारपछि ती पुरुषलाई सञ्चो बनाएर घर पठाउन सफल भएको उनले सुनाइन्। अहिले पनि ती पुरुष सम्पर्कमा रहेको र बेलाबेलामा फोटोहरू पठाउने गरेको उनले सुनाइन्। 

भारतमा एसएलसी र डाक्टरी रहर 
आकृति सुनसरीको इटहरीमा जन्मिएकी हुन्। उनले पाँच कक्षासम्म स्थानीय विद्यालयमा नै पढिन्। ६ कक्षादेखि भने उनी भारतको सिक्किमस्थित सेन्ट जेभियर्स विद्यालयमा होस्टलमा बसेर पढ्न थालिन्। उनले त्यहीँबाट सन् २००२ मा आइसिएसी (एसएलसी सरह) गरिन् भने सन् २००४ मा ११/१२ पनि भारतको सेन्ट जेभियर्समा नै पढिन्।

आकृतिलाई डाक्टर बन्ने रहर थियो। त्यसमा पनि मुटुको शल्यक्रिया गर्ने डाक्टर नै बन्नु थियो उनलाई। त्यसैले उनी नेपाल फर्किइन्। काठमाडौं विश्वविद्यालय अन्तर्गतको काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा सन् २००५ मा एमबीबीएस अध्ययन गर्न थालिन्। त्यहाँ पाँच वर्षे एमबीबीएस अध्ययन सकेपछि उनले एकवर्ष नेपाल मेडिकल कलेजमा नै सर्जरी विभागमा नै काम गरिन्। त्यो बेला उनी स्तुपा अस्पतालमा पार्ट टाइमरका रुपमा नाइट ड्युटीमा पनि आकस्मिक कक्षमा काम गर्थिन्। 

त्यसपछि डा. आकृतिले सन् २०१२ मा काठमाडौं विश्वविद्यालय अन्र्गतकै काठमाडौं मेडिकल कलेज (केएमसी)मा स्नातकोत्तर तहको जनरल सर्जरी (मास्टर्स इन जनरल सर्जरी/एमएस) विषयको अध्ययनका लागि भर्ना भइन्। सन् २०१५ मा उनको तीन वर्षे एमएस अध्ययन सकियो।

कलिलैमा एमसिएच
डा. आकृतिले सन् २०१५ मा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसमा कार्डियो थोरासिक एण्ड भास्कुलर सर्जरी (सिटीभिएस) विषयमा एमसिएच अध्ययन गर्न थालिन्। सन् २०१९ मा उनको तीन वर्षे एमसिएच अध्ययन पूरा भयो। यो विशिष्टिकृत (सुपरस्पेशलाइजेशन) तहको विद्यावारिधि सरहको अध्ययन हो। डा. आकृतिले कलिलै उमेरमा चिकित्सा शास्त्रको विशिष्टिकृत तहको अध्ययन गरिन्।

डा. आकृतिले सरकारी छात्रवृत्ति कोटामा एमसिएच अध्ययन गरेकी हुनाले उनले दुई वर्ष छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो। त्यसैले उनले एमसिएच अध्ययनपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा दुई वर्ष छात्रवृत्ति करारमा काम गरिन्। 

त्यसपछि उनी महाराजगञ्ज चिकित्सा क्याम्पसमा नै असिस्टेण्ट प्रोफेसरका रुपमा करार जागिरे भइन्। करार जागिरे भएपछि चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने अनि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बिरामीको औषधि उपचार र शल्यक्रिया गरेर बिरामी बचाउने जस्ता भूमिकामा उनी काम गर्छिन्। 

फोक्सोको शल्यक्रियामा केन्द्रित
कार्डियो थोरासिक एण्ड भास्कुलर सर्जरी (सिटीभिएस) विषयमध्ये थोरासिक (फोक्सोको शल्यक्रिया)मा नै केन्द्रित भएर उनी काम गर्छिन्। घाँटीभन्दा मुनी र पेटभन्दा माथि मुटु र नसा बाहेक सबै किसिमका शल्यक्रिया गर्नु उनको चिकित्सकीय पेसाको दैनिकी हो। 

विशेषगरी फोक्सो, फोक्सोको बाहिरको  बोसोमा ट्युमर पलाएको, खानानली, श्वासप्रश्वास नली, थाइरोइड, स्तन, छाती भन्दा पछाडिको भागमा करङ भाँचिएको छ भने शल्यक्रिया गरी ठिक बनाउने जस्ता काममा उनी तल्लिन हुन्छिन्। 

महिला सर्जन भनेर नचिनुन् भन्ने चाहना
डा. आकृतिलाई शल्यक्रियाको शिलशिलामा पुरुष र महिलामा भिन्नता भएको महसुस नै हुँदैन रे। शल्यचिकित्सकले एक जना बिरामीको शल्यक्रियामा कहिलेकाहीँ १२/१४ घण्टा भन्दा बढी खटिनुपर्ने हुन्छ। कहिले आकस्मिक रुपमा शल्यक्रियामा खटिनुपर्ने हुन्छ। 

तर, महिला भएकै कारण शल्यचिकित्सकीय पेसाको शिलशिलामा अप्ठेरो महसुस नभएको उनले सुनाइन्। ‘म विवाहित हैन, त्यो कारणले पनि मलाई सजिलो भएको हो की,’ उनले भनिन्। तथापि उनले शल्यचिकित्सा विद्या कुनै बाध्यताले पढेकी हैनन्। उनले ‘म शल्य चिकित्सक नै बन्छु’ भनेर नै डाक्टरी विषय अध्ययन गरेकी रहिछन्। त्यसैले शल्य चिकित्सकीय पेसाको शिलशिलामा उनलाई थकान महसुस हुँदैन रे। 

एमबीबीएपछि ‘मलाई सर्जन भनेर चिनुन्, तर महिला जर्नन  भनेर नचिनुन्’ भन्ने उनको इच्छा थियो।
त्यसो त सिटिभिएस सर्जन नै बन्छु भनेर नै डाक्टर पढेको उनले सुनाइन्। एमबीबीएस अध्ययन सुरू गर्नुअघि सिटीभिएस के हो भन्ने त उनलाई एकिन ज्ञान थिएन। तर, उनले  मुटुको शल्यक्रिया गर्ने डाक्टर बन्छु भनेर नै एमबीबीएस पढ्न थालेकी रहिछन्।

उनलाई ११/१२ कक्षा पढ्दा नै मुटु, कलेजोको शल्यक्रिया कसरी गरिँदो हो भनेर खुलदुली लाग्थ्यो। जुन जिज्ञासाको कारण नै आफूले सिटीभिएस पढ्न सफल भएको उनले सुनाइन्। सिटिभिएस जोखिम किसिमको शल्यक्रिया पनि हो। शल्यक्रियामा जटिलता भएको समयमा उनी सिनियरसँग त उनी समन्वय गरेर समस्या समाधानको कोशिश गर्छिन्। 

फोक्सोको प्रत्यारोपण सिक्ने इच्छा
डा. आकृतिलाई विशेष मेसिनको सहायताले गरिने रोबट्र्री सर्जरी र फोक्सोको प्रत्यारोपण सिकेर काम गर्ने इच्छा छ। भारतमा फोक्सोको प्रत्यारोपण हुने भएपनि नेपालमा भने हालसम्म यस्तो प्रत्यारोपण नभएको उनले  सुनाइन्। मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिको फोक्सो दानबाट फोक्सो प्रत्यारोपण गर्न सकिने डा. आकृतिले  बताइन्।  

जेठ १९, २०८१ शनिबार १८:०३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।