सीमा नाकाबाट भारतीय धान भित्रिन थालेपछि किसान मर्कामा, एकैपटक तस्करीको ९० बोरा धान समातियो

सीमा नाकाबाट भारतीय धान भित्रिन थालेपछि किसान मर्कामा, एकैपटक तस्करीको ९० बोरा धान समातियो

काठमाडौं : भारतबाट तस्करी गरी ल्याइएको ९० बोरा धानसहित एकजना पक्राउ परेका छन्।  

रौतहटस्थित नेपाल प्रहरीको गस्तीले ईशनाथ नगरपालिका वडा नम्बर ४ मा ३ हजार ४ सय किलो अर्थात ९० बोरा धान बरामद गरेको हो। १ लाख ४९ हजार ६ सय मूल्य बराबरको धान लिएर नेपाल पस्दै गरेका राजपुर नगरपालिकाको वडा नम्बर ६  बस्ने अमर साह पनि समातिएका छन्।  

भारतीय सीमासँग जोडिएका नाकाबाट अत्यधिक मात्रामा भारतीय धान भित्रिन थालेपछि त्यहाँका किसानहरू मर्कामा परेका छन्। भारत सरकारले आफ्ना देशका धान किसानलाई धान खेतीमा अनुदान तथा सुविधा उपलब्ध गराएकाले भारतीय धान सस्तो हुने भएपछि खुल्ला सीमाका कारण अवैध रुपमा भारतीय धान आयात भएर नेपाल भित्रिन थालेको स्थानीय बताउँछन्। 

भारतबाट भित्रिने धानमा कृषि विकास शुल्क लागे पनि चोरी तस्करी भई भित्रिने धानका कारण सरकारको उक्त राजस्व प्रभावित हुने गरेको छ। नेपाली धानभन्दा भारतीय धान सस्तो भएपछि गल्ला व्यापारीले बिचौलिया मार्फत खुल्ला सीमाको फाइदा उठाउँदै दैनिक ठूलो परिमाणमा भारतीय धान भित्र्याउने गरेको स्थानीयको भनाई छ। 

नेपाल भारत सीमा क्षेत्रमा पर्ने बन्जरहा, औरैया, मन्सरी, रामपुरखाप, बंकुल नाकाबाट दिनहुँ भारतीय सामग्रीहरूको चोरी निकासी हुने गर्दछ। तस्करहरूको बढ्दो सक्रियताले यस क्षेत्रमा तस्करी बढेको गुनासो आएपछि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

जेठ १९, २०८१ शनिबार १७:०२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।