वर्षमान पुनलाई ओलीको प्रश्न- ‘यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको?’

वर्षमान पुनलाई ओलीको प्रश्न- ‘यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको?’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका तर्फबाट आएको नयाँ बजेटले सहकार्य संस्कृतिको प्रतिनिधित्व नगरेको भन्दै आपत्ति जनाएका छन्।

एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई प्रशिक्षण दिँदै गठबन्धन दलका मुख्य नेता ओलीले बजेट अर्थमन्त्रीका तर्फबाट मात्र आएको जस्तो देखिएको भनेर टिप्पणी गरे। ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको भनेर टिप्पणी गर्दै सरकारमा सहभागी दलसँग परामर्श गरेर बजेट ल्याएको भए राम्रो हुने थियो भने।

ओलीले भने,  ‘यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ। रकमको बाँडफाँट पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ।’

ओलीले यसरी एकतर्फी रुपमा आएको बजेटमा गम्भीर त्रुटि रहेको भन्दै संसदमा खुलस्त छलफल गर्न सांसदहरूलाई निर्देशन दिए। सांसदहरूले आफ्नो क्षेत्रमा बजेटको अवस्था के छ, कटौती भएको छ र अन्य क्षेत्रमा गएको छ भने कुरा उठाउन सक्ने उनको सुझाव छ।

ओलीले भने, ‘हामी बजेटलाई समर्थन गर्छौँ र पारित पनि गर्छौँ। तर, यसको अर्थ बजेटमा रहेको कुनै पनि कमी औंल्याउनुहुँदैन भन्ने होइन।’   

जेठ १९, २०८१ शनिबार १६:३१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।