यातायात विभागले २ लाख ६० हजार लाइसेन्स कार्ड नछापिदिँदा सास्तीमा सवारी चालक

यातायात विभागले २ लाख ६० हजार लाइसेन्स कार्ड नछापिदिँदा सास्तीमा सवारी चालक

काठमाडौं : यातायात व्यवस्था विभागले समयमै काम नगरिदिँदा सवारी चालकहरूले अनावश्यक तनाव भोग्नुपरेको छ। विभागले सवारीचालक अनुमतिपत्र छपाइमा गरेको अनावश्यक ढिलाई नै शंकाको घेरामा परेको छ भने सरकारको निर्णय समयमा कार्यान्वयन नगरेको भनेर संवैधानिक निकायले समेत प्रश्न गरेको छ।

विभागले छपाइका लागि समय थपिएपछि पनि २ लाख ६० हजार कार्ड नछापेको महालेखा परीक्षक विभागले टिप्पणी गरेको छ। 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को परिच्छेद ४ मा सवारीचालक अनुमतिपत्र सम्बन्धी भएको व्यवस्था बमोजिम यातायात व्यवस्था विभागबाट अनुमतिपत्रहरूको छपाइ, वितरण तथा तथाङ्क भण्डारणसम्बन्धी कार्यहरू हुनुपर्ने हो।

विभागले एक विदेशी कम्पनीसँग २०८०।५।१८ भित्र १२ लाख स्मार्ट कार्ड आपूर्ति गर्नेगरी २०७९।११।१० मा अमेरिकी डलर १४ लाख ९८ हजारको सम्झौता गरेको थियो। सम्झौता अवधिभित्र कार्ड आपूर्ति हुन नसकी दुई पटक गरी १७२ दिन म्याद थप भएको थियो। चालक अनुमतिपत्र मागको आधारमा यो वर्षसम्म १४ लाख ६० हजार कार्ड छपाइ हुनुपर्नेमा सम्झौताअनुसार १२ लाख कार्ड मात्र आपूर्ति हुने भएकोले २ लाख ६० हजार कार्ड अपुग हुने अवस्था छ।

विभागले हाल विदेश जाने व्यक्तिसहित अत्यावश्यकलाई मात्र कार्ड वितरण गरिरहेकाले २०२२ जुलाईदेखिका नयाँ तथा नवीकरण गरेका सवारी चालकहरूको अनुमतिपत्र छपाइ भएको छैन।  

जेठ १९, २०८१ शनिबार १५:४०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।