गुलशन कुमारको हत्यापछि ‘सत्या’को सुटिङ रोकियो, निर्माता डरले भागे : मनोज बाजपेयी

गुलशन कुमारको हत्यापछि ‘सत्या’को सुटिङ रोकियो, निर्माता डरले भागे : मनोज बाजपेयी

एजेन्सी : बलिउडका दिग्गज अभिनेता भनेर चिनिने मनोज बाजपेयीको नाम लिँदा जोकोहीले उनको फिल्म ‘सत्या’ सम्झन्छन्। सन् १९९८ मा रिलिज यो फिल्मले मनोजलाई बलिउडमा अलग पहिचान दिएको थियो। हालै उनले एक अन्तवार्तामा सन् १९९७ मा संगीतकार, भजन गायक र व्यापारी गुलशन कुमारको हत्या पछि ‘सत्या’को सुटिङमा लागेको रोक र निर्माता भागेको प्रसंगलाई खुलाएका छन्।

मनोजका अनुसार गुलशनको हत्यापछि फिल्मका वास्तविक निर्माता निकै डराएका थिए। 

‘यस्तो अवस्थामा उनले लगानीबाट हात झिके। यो प्रोजेक्ट बीचमै अड्कियो। तर, निर्देशक राम गोपाल बर्मा हार मान्न तया थिएनन्। यस्तो अवस्थमा उनले एक हप्तामा अर्को निर्माता खोजे’, मनोजले भनेका छन्।

मनोजले मुम्बई सिफ्ट भएपछि आफूले कसरी मुस्किलको सामना गर्नुपर्यो भन्ने कुराको पनि खुलासा गरेका छन्। 

‘फिल्म सत्याबाट मैले डेढ लाख रुपैंयाँ पाएको थिएँ। यो मेरो लागि राम्रो रकम थियो। किनकी ठूलो अवसर पनि थियो। तर, जब भाग्यले बाटो लिँदै थियो, त्यही बेला गुलशन कुमारको गोली हानी हत्या भयो। यसको पछाडि अन्डरवल्र्डको हात रहेको चर्चा थियो’, उनले भने।

उनले आफूले ‘सत्या’मा अवसर पाउँदा त्यो कुरा कसैलाई नभनेको बताएका छन्। 

‘जब मैले ‘सत्या’ पाएँ, तब मैले कसैलाई बताइन्। मैले कोठामा सँगै बस्ने साथीलाई पनि भनिँन। गुलशनको हत्या हामीले सुटिङ सुरु गरेको ६ दिनपछि भएको थियो। त्यसपछि फिल्मको सुटिङ रोकियो, किनकी निर्माता निकै डराएका थिए। गुलशनको हत्या फिल्म उद्योगका लागि ठूलो घटना थियो। हामी पनि मुम्बईको माफियामा आधारित रहेर फिल्म बनाइरहेका थियौं। यहीकारण निर्माता डराएका थिए र उनले फिल्म बन्द गरिदिए। हाम्रो करियर सुरु हुन लाग्दा अचानक रोकिएको थियो’, मनोजले सम्झिएका छन्।

मनोजका अनुसार एक सातापछि निर्देशक राम गोपाल बर्माले भरत शाहलाई भेटेका थिए। जसको लगानीमा ‘सत्या’को काम अगाडि बढ्यो। 

‘मैले राम गोपाल बर्माले फिल्मको काम रोक्ने निर्णय नलिउञ्जेल काम नछोड्ने निर्णय लिएँ। रामले कहिल्यै हार मानेनन्। आठ दिनपछि फिल्मको काम पुनः सुरु भयो’, उनले भनेका छन्।

जेठ १९, २०८१ शनिबार १४:४४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।