यौन दुर्व्यवहारको आरोपपछि विवादास्पद आरोही पुर्जाको खण्डन, प्रमाणहरूलाई नजरअन्दाज गरिएको दाबी
काठमाडौं : दोहोरो नागरिकता र आगलागी जोडिएका विवादास्पद पर्वतारोही निर्मल पुर्जाले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपको खण्डन गरेका छन्।
निम्स दाइका नामले परिचित नेपाली मुलका बेलायती नागरिक पुर्जाले शुक्रबार राति इस्टाग्रामार्फत खण्डन गर्दै समाचारलाई ‘अपमानजनक’ र ‘झुटो’ भएको दाबी गरेका छन्।
न्यूयोर्क टाइम्सले उनीमाथि यौन दुर्व्यवहारको आरोप लागेको समाचार प्रकाशित गरेपछि त्यसलाई नेपाली सञ्चारमाध्यमहरूले नेपालीमा उल्था गरेर प्राथमिकताका साथ प्रकाशित गरेका थिए। त्यसपछि पुर्जाले समाचारको खण्डन गरेका हुन्।
पुर्जाले समाचारमा एकदमै कम मात्र वास्तविकता देखाइएको उल्लेख गरेका छन्। उनले आफूमाथि लागेका अभियोजनका विवरण र साक्षीहरूबाट प्राप्त प्रमाण पनि उपलब्ध गराउँदा पनि महत्वपूर्ण तथ्यहरूलाई बेवास्ता गरिएको दाबी गरेका छन्।
घटना भएको दिन मार्च ३० को लोकसन र गतिविधिहरूको विवरण उपलब्ध गराएको उल्लेख गर्दै उनले ती तथ्यहरूकै आधारमा पनि त्यो घटना वस्तुतः असम्भव रहेको दाबी गरे।
‘समाचारमा कयौं साक्षीहरूको मुख्य विवरण र बयानलाई लेखिएको छैन,’ उनले भनेका छन्, ‘एक दर्जनभन्दा बढी साक्षी र प्रमाणहरूलाई नजरअन्दाज गरिएको छ।’
निम्सले न्यूयोर्क टाइम्सले आफ्नो पूरै धारणा छाप्न अस्वीकार गरेको आरोप समेत लगाएका छन्। उनले यसलाई गम्भीरतापूर्वक लिएको र कानूनी विकल्पहरूको मूल्याङ्कन गरिरहेको भनेका छन्।
द न्युयोर्क टाइम्समा शुक्रवार प्रकाशित खोजमूलक समाचारमा उनले यौन दुर्व्यवहारदेखि बलात्कारको प्रयाससम्म गरेको उल्लेख छ।
उनले काठमाडौंको द मेरियटमा रहेको आफ्नो स्विट रुम र आरोहणका क्रममा सगरमाथाको बेसक्याम्पको टेन्टमा समेत यौन दुर्व्यवहार गरेको उल्लेख छ।
व्यावसायिक पर्वतारोही तथा पूर्व मिस फिनल्यान्ड लोट्टा हिन्त्सले आफ्नो आत्मकथामा ‘एक धेरै प्रसिद्ध पुरुष आरोही’ले यौन दुर्व्यवहार गरेको उल्लेख गरे पनि नाम उल्लेख गरेकी थिइनन्।
२०२३ मार्चमा काठमाडौंमा उनको होटेल सुइटमा भएको एउटा व्यावसायिक छलफलको क्रममा त्यस व्यक्तिले हिन्त्ससँग यौन दुर्व्यवहार गरेको उल्लेख छ।
द न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा भने हिन्त्साले आफ्नो अनुभव किताबमा वर्णन गरेभन्दा बढी त्रासपूर्ण रहेको भन्दै ती व्यक्ति निम्स दाइको रूपमा परिचित निर्मल पुर्जा रहेको खुलाएकी छन्।
पुर्जाले बेडरुममा लगेको, अनुमतिविना चुम्बन गरेको, सर्ट, ट्रेकिङ सर्ट फुकालेर ब्रा फुकाल्न खोजेको न्युयोर्क टाइम्समा उल्लेख छ।
द टाइम्ससँगको अन्तर्वार्तामा, हिन्त्सा र पुर्जाको कम्पनीकी अर्की एक पूर्व ग्राहकले उनले यौन दुर्व्यवहार गरेको अनुभव वर्णन गरेका छन्।
पुर्जा र हिन्त्सा एक अभियानमा सँगै काम गर्नेबारे छलफल गर्न मार्च २०२३ मा काठमाडौंमा भेट्न सहमत भएको समाचारमा उल्लेख छ। पुर्जाले लबीमा भिडभाड हुने भन्दै आफ्नो होटेलको स्विट रुममा कफी पिउन अफर गरेका थिए।
मार्च ३० मा मेरियट होटेलमा रहेको पुर्जाको सुइटमा हिन्त्सा पुग्दा पुर्जाले उनलाई एक्कासि ओच्छ्यानतिर लैजाँदा आफ्नो शरीर जमेको बताएकी छन्।
आफूले अस्वीकार गर्दा पनि उनले अनुमति नलिई कपडाहरू खोलेको, आफ्नो महिनावारीको समय भएको बताउँदा पनि योनी छोएको उनले द न्युयोर्क टाइम्सलाई बताएकी छिन्।
‘उनी यति उत्तेजित अवस्थामा थिए कि ‘अस्वीकार’ शब्दको कुनै अर्थ थिएन’, हिन्त्साले स्मरण गरिन्।
उनी बेलायती सेनामा काम गरेको र बलियो भएकाले उनलाई चिढ्याउने कुरा आफूले नसोचेकी उनले उल्लेख गरेकी छन्। आफूले अस्वीकार गरिरहँदा पुर्जा चिढिएजस्तो देखिएको र ब्रा फुकाल्न नदिएपछि उनले हस्तमैथुन गर्न थालेपछि आफूले राहत महसुस गरेको उनले बताएकी छन्।
त्यसपछि पुर्जा नुहाएर बाहिर निस्केपछि मेरियटमा आफूले सञ्चालन गरेको पसल देखाएको र एकजना चालकलाई होटेलसम्म पुर्याउन पठाएको उल्लेख गरेकी छन्।
क्यालिफोर्नियाकी पारिवारिक चिकित्सक डा. एप्रिल लियोनार्डोले पनि पुर्जामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन्। केटुको आरोहणको क्रममा पुर्जाले विना अनुमति चुम्बन गरेको र यौन सम्बन्धको प्रस्ताव गरेको उल्लेख गरेकी छन्।
‘उ मेरो गाइड थियो। म आफूलाई जोखिममा पार्न चाहन्थेँ’, उनले भनेकी छन्।
पुर्जामाथि लागेको आरोपबारे उनीसँग कुरा गर्न प्रयास गर्दा अस्वीकार गर्दै आफ्नो वकिलसँग कुरा गर्न भनेको र उनको वकिलले लिखित रूपमा सबै आरोप गलत भएको दाबी गरेको समाचारमा उल्लेख छ।
होटेल मेरियटको स्विट रुममा अड्डा
उकेराले यसअघि नै निर्मल पुर्जाको नागरिकता र शंकास्पद आगलागीका बदमासीबारे श्रृंखलाबद्ध समाचार प्रकाशित गरिसकेको छ।
उकेराले उनको दोहोरो नागरिकताबारे प्रमाणसहित समाचार प्रकाशित गरेपछि उनले नेपाली नागरिकता त्यागेका थिए।
कपनमा रहेको उनको कम्पनीको कार्यालय रहेको घरमा भएको शङ्कास्पद आगलागीबारे समेत उकेराले श्रृंखलाबद्ध समाचार प्रकाशित गरेको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सो आगलागीबारे अनुसन्धान गरे पनि अझै निष्कर्षमा पुगेको छैन। घर धनीसँगको क्षतिपूर्तिको कानूनी लडाइँ अझै जारी छ।
उनी काठमाडौंमा रहँदा होटेल मेरियटको स्विट रुममा बस्ने गर्छन्। उनले मेरियटको उनको पसल होटेल मेरियट नजिकै छ।
हालै सगरमाथा आरोहणका क्रममा चाहिने डोरी काटिएको भन्दै उनले इन्स्टाग्राममा राखेको भिडियो गलत भएको भन्दै पर्यटन विभागले भ्रम फैलाएकोमा उनीमाथि छानबिन सुरु गरेको थियो।
सम्बन्धित समाचार:-
कीर्तिमानी आरोही निर्मल पुर्जाको आपराधिक काम: कानुन छल्दै २ देशको नागरिकता, २ देशको पासपोर्ट
रहस्यमय आगलागीबाट भूत बङ्गला बनेको कपनको भव्य घर, दुवै पक्ष आफूलाई पीडित भन्छन्, राज्य रमिते छ
निर्मल पुर्जाको कार्यालयको आगलागी घटनामा जोडियो नक्कली नागरिकता अनि नक्कली विवाहको मुद्दा
पीडित पीडक समाज, पीडकप्रिय राज्य
निर्मल पुर्जाका साझेदार मिङमाको प्रश्न : मेरो भाई कसरी मर्यो यसको उत्तर कसले दिने ?निम्सको कम्पनीमा ज्यान गुमाएका छेवाङका दाइ भन्छन्' भर्खरको भाइको ज्यान गयो, तर राज्यले वास्तै गर्दैन'
विस्फोटमा परेको कपनको घर जोडियो ब्ल्याकमेलिङदेखि नक्कली नागरिकतासम्म !
तीन जनाको ज्यान जाने गरी कपनमा भएको विस्फोटको प्रमाण दुई वटा ग्याँस सिलिन्डर मात्र !
निर्मल पुर्जाको ‘ईलाइट एडभेन्चर’को सम्पत्ति रोक्का गर्न अदालतको आदेश
जेठ १९, २०८१ शनिबार १२:२८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।