पशुपालन र राजनीति दुवैमा सफल अयोध्या : ‘थारु बौलाएछ’ देखि ‘अध्यक्षज्यू नमस्कार’ सम्मको कथा

पशुपालन र राजनीति दुवैमा सफल अयोध्या : ‘थारु बौलाएछ’ देखि ‘अध्यक्षज्यू नमस्कार’ सम्मको कथा

बुटवल : रुपन्देहीको सियारी गाउँपालिका-२ भागदरीका अयोध्या थारु ०५२ सालमा बुटवलका केही निजी कम्पनीहरूमा इलेक्ट्रिसियनको काम गरे।

त्यहाँ काम गर्दा उनलाई आफ्नो क्षेत्र नै यहि हो भन्ने लाग्थ्यो। तर, जागिरे जीवनमै राजनीतिमा पनि सक्रिय अयोध्यालाई एमाले पार्टीले ०५४ सालमा स्थानीय निकायको चुनावमा उठ्न आग्रह गर्यो। उनले पनि ‘हुन्छ’ भने।

तत्कालीन मैनहिया गाविसमा एमालेबाट गाविस अध्यक्ष उठेर चुनाव जिते पनि। गाविस अध्यक्ष भएपछि जागिर छुट्यो। जागिरले जेनतेन परिवार चलेकै थियो।

तर, गाविस अध्यक्ष भएपछि घरगृहस्थ चलाउनै सकस हुनथाल्यो। त्यसपछि उनले गाई पालेर जीविका चलाउने सोचे र अध्यक्ष भएकै समयमा गाईपालनमा लागे।

‘मोटरसाइकलमा राखेर भैरहवासम्म दूध बिक्री गर्न लैजान्थे’, उनले भने।

२०५५ सालमा तीन वटा गाईपालन थालेका उनले गाविस अध्यक्षको जिम्मेवारीलाई पनि सँग-सँगै अघि बढाए। पाँच वर्ष त्यसरी नै बित्यो। त्यसपछि उनले फार्मलाई झनै व्यावसायिक बनाएर लगे।

२०५६/०५७ सालतिर अयोध्या थारुले मोटरसाइकलमा दूध बिक्री गर्दा आफूलाई धेरैले ‘गाविस अध्यक्ष भइसकेको मान्छे दूध बेच्दैछ, थारु बौलाएछ’ भन्ने गरेको उनी स्मरण गर्छन्।

अयोध्याले गोठमा गाई बढाउँदै लैजाँदा देशमा माओवादीको सशस्त्र द्वन्द्व थियो। धेरैतिर व्यवसायमा संकट हुँदा अयोध्याको गोठमा त्यसको प्रभाव खासै थिएन।

‘त्यो बेला मैले धेरै सस्तो मूल्यमा गाईहरू गोठसहित खरिद गर्थेँ। अरु सबैतिर व्यवसाय ठप्प जस्तै हुँदा मेरो भने राम्रो थियो। गाईहरू गोठमा बढेको बढ्यै थिए’, उनले भने।

द्वन्द्वको समयमा नेपालमा दूध बिक्री गर्न कठिन भएको अवस्थामा उनले मर्चवारको नाका प्रयोग गर्दै भारतको नौगढ, कोलोहीसम्म दूध पुर्याए। केही दूध बुटवलको डिडिसीमा समेत पठाउँथे।

०६३/०६४ तिर आइपुग्दा उनको व्यवसाय लोभलाग्दो बन्यो। त्यतिबेलासम्म उनी आफू मात्रै दूध उत्पादन गर्दैनथे, अरुको दूध खरिद गरेर पोखरा अनि काठमाडौंसम्म पठाउन थालिसकेका थिए।

अहिले अयोध्याले समाजका उदाहरणीय कृषकका रूपमा पहिचान बनाएका छन्।

रुपन्देहीको सियारी-२ मा कामधेनु पशु तथा मत्स्य फर्म सञ्चालन गरिरहेका अयोध्याले यसैबाट नाम र दाम दुवै कमाएका छन्। उनको फर्म धेरैका लागि अध्ययनको थलो समेत बनेको छ।

अयोध्याले ०५५ सालबाट पशुपालन गरे पनि व्यावसायिक रूपमा दर्ता गरेरै पाल्न थालेको भने २०६२ सालदेखि हो। अहिले ५५ वटा गाई छन्। तीनमध्ये ३० वटाले दूध दिन्छन्। दैनिक ३ सय लिटर दूध सहकारीमार्फत बिक्री गर्दै आएका छन् उनले।

अयोध्याले तीन विघा क्षेत्रफलमा अढाइ करोड लगानी गरेर माछापालन समेत गरेका छन्। जसमा ४ जनाले रोजगारीसमेत पाएका छन्।

दूध, मल र माछा बिक्री गरेर अयोध्याले वार्षिक एक करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्दै आएका छन्। गत वर्ष मात्र उनले ६८ लाख रुपैयाँको दूध र ३३ लाख रुपैयाँको माछा बिक्री गरे।
१९ वर्ष गाई गोठमा बिताएका अयोध्यालाई ०७४ सालको स्थानीय तहका निर्वाचनमा पार्टीबाट गाउँपालिका अध्यक्षको टिकट पाए र चुनाव पनि जिते।

दोस्रो पटक स्थानीय सरकारको नेतृत्वमा आएपछि अयोध्याले फर्ममा भन्दा पालिकामा बढी समय दिए। किनकी गाउँपालिकामा आधारभूत विकासको जग बसेकै थिएन। भवन समेत आफ्नो थिएन। पहुँच मार्ग बन्ने त झन कुरै भएन।

‘चुनाव जितेपछि मैले त्यो समय बढि आधारभूत विकासमै समय खर्चिनुपर्यो। विकट गाउँहरू पालिकामा समेटिएका थिए। सडक, खानेपानी, सिचाइँ, प्रशासकीय भवन बनाउँदैमा समय धेरै बित्यो’, उनले भने।

अयोध्या नेपालमा अझै पनि किसानलाई प्रोत्साहन गर्ने नीति सरकारसँग नभएको बताउँछन्।

‘यहाँ हरेक भूभागमा मौसम अनुसार तरकारी, खाद्यान्न उत्पादन हुन्छ। तर, किसानलाई प्रोत्साहन गर्ने नीति सरकारको छैन। कम्तीमा पनि किसानको उत्पादनलाई बजारीकरणको ग्यारेन्टी सरकारले गर्ने हो भने समृद्ध नेपाल बन्न २० पनि पनि लाग्दैन’, उनले भने।

साथै उनले धेरै बेरोजगार युवाहरूलाई तालिम मात्र नदिई युवालाई व्यवसायी बनाउन तर्फ स्थानीय तह लाग्नुपर्ने बताए।

‘युवा केही गर्न खोज्छ भने उसलाई लगानी पनि गरिदिनुपर्छ। बरु त्यो लगानी सहि सदुपयोग भएको छ/छैन अनुगमन गर्नुपर्छ। यसो भएमा मात्र युवालाई देशमा टिकाउन सकिन्छ’, उनले थपे।

जेठ १९, २०८१ शनिबार ०९:१३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।