विश्वकपको पहिलो खेलअघिको पत्रकार सम्मेलनमा पाँच जना मात्रै
काठमाडौं : आईसीसी विश्वकपको पहिलो खेलअघिको पत्रकार सम्मेलनमा जम्मा पाँच जना मात्रै पत्रकार उपस्थित भएका छन्।
शनिबार आयोजक अमेरिका र क्यानडाले आईसीसी विश्वकप टी२० को पहिलो खेल खेल्दैछन्।
खेलअघि शुक्रबार डालसमा भएको पत्रकार सम्मेलनमा पाँच जना पत्रकार उपस्थित भएको अमेरिकी पत्रकार पिटर डेल्ला पेन्नाले जनाएका छन्।
विश्वकप प्रतियोगिताको पहिलो खेलअघिको पत्रकार सम्मेलनमा जम्मा पाँच जना मात्रै उपस्थित हुनु अचम्म भएको उनको भनाइ छ।
उनले आफ्नो एक्स एकाउन्टमा लेखेका छन्, ‘अमेरिका र क्यानडाबीच अमेरिकाको डालसमा हुने आईसीसी विश्वकप २०२४ को उद्घाटन खेलमा चासो राख्नेहरुलाई बताइदिउँ कि आज भएको पहिलो खेलको प्रि–म्याच प्रेस कन्फ्रेन्समा जम्मा पाँच जना उपस्थित थिए।’
टेस्ट राष्ट्रहरुमा विश्वकपको भयङ्कर चासो र चिन्ता हुँदा एशोसियट देशहरूमा यसबारे चासो कम भएको पाइन्छ। उसो त नेपाल भने यो मामिलामा फरक छ। आयरल्याण्ड र जिम्बावेजस्ता टेस्ट राष्ट्रको भन्दा नेपालमा क्रिकेटप्रति बढी चासो देखिन्छ।
विश्वकपको पहिलो खेल नेपाली समयअनुसार आइतबार विहान सवा ६ बजे हुँदैछ। दुवै टोली समूह ए मा छन्।
जेठ १९, २०८१ शनिबार ०८:१३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।