मन्त्रिपरिषद् बैठकमा दुर्गा प्रसाईँको साइड इफेक्ट : हतियार घर बाहिर निकाल्न पूर्व अनुमति लिनुपर्ने निर्णय

मन्त्रिपरिषद् बैठकमा दुर्गा प्रसाईँको साइड इफेक्ट : हतियार घर बाहिर निकाल्न पूर्व अनुमति लिनुपर्ने निर्णय

काठमाडौँ : मन्त्रीपरिषद् बैठकले हतियार राख्ने अनुमति पाए पनि यात्रा अनुमति नलिई हतियार बोकेर हिँड्न रोक लगाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले 'इजाजत पत्र पाए पनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाउने निर्णय गरेको हो।

निजी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँको नाममा जारी भएको हतियारसहित उनको बडीगार्ड सर्वोच्च अदालत परिसर बाहिर पक्राउ परेपछि निजी हतियार कहाँ बोकेर हिँड्न पाइने भन्ने विषयमा विवाद सुरु भएको थियो।

प्रहरीले अत्याधुनिक हतियार सहित प्रसाईँका सुरक्षा गार्डलाई पक्राउ गरे पनि सर्वोच्च अदालतको आदेशमा उनी रिहा भएका थिए। सरकारले दिएको अनुमति पत्रको आधारमा हतियार लिएर हिँडेकालाई पक्राउ गरेर हिरासत राख्नु कानुन सम्मत नभएको भने पनि सर्वोच्चले प्रसाईँको नाममा जारी भएको हतियारबारे अनुसन्धान गर्न निर्देशन समेत दिएको थियो।

सो निर्देशन अनुसार गठन भएको समितिले हतियार वितरण र प्रयोग सम्बन्धी विद्यमान कानुनबारे अनुसन्धान गरेर बुझाएको प्रतिवेदनमा अनुमति प्राप्त हतियार भए पनि साथमा लिएर हिँड्ने प्रक्रियाको नियमन गर्न सुझाव दिएको थियो।

सोही सुझाव अनुसार बिहीबारको बैठकले  घर बाहिर हतियार लिएर निस्कन अनुमति लिनुपर्ने निर्णय गरेको हो।

कस्तो हतियार बोकेका थिए प्रसाईँले ?

प्रसाईँको मेडिकल कलेजको सम्बन्धनबारे सर्वोच्च अदालतमा जारी रहेको सुनुवाइमा पुगेका प्रसाईँसँगै रहेका बडीगार्डको साथमा २०२८० चैत ५ मा अर्ध स्वचालित हतियार बरामद भएपछि हङ्गामा भएको थियो।

प्रहरीले तत्काल हतियार बोक्ने अनुमति पाएका र हतियार बोकेका प्रसाईँका दुई सुरक्षा गार्डलाई पक्राउ गरेको थियो। तर पछि दुबै जना सर्वोच्चको आदेशमा रिहा भए। सर्वोच्चले हतियारबारे अध्ययन गर्न दिएको सुझाव अनुसार समिति गठन भयो।

प्रसाईँले अर्ध स्वचालित हतियार बोकेका थिए। अर्को उनको अनुमति पत्रमा नेपाल भर बोकेर हिँड्न मिल्नेगरि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको खुल्यो।

यी दुवै विषयमा भएको छानबिनमा समितिले प्रसाईँले बोकेको हतियार नेपालमा लाइसेन्स लिएर पनि बोक्न नपाउने प्रकारको रहेको निष्कर्ष दिएको थियो।

प्रसाईँले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा लिएको हतियार अर्थ स्वचालित प्रकारको रहेको समितिको निष्कर्ष थियो। हातहतियार कानुन अनुसार नेपालमा बाह्र बोर र टुटूँ प्रकारका हतियार मात्र अनुमति लिएर राख्न पाइन्छ।

तर प्रसाईँले अनुमति पाएको हतियार जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ थियो। उनको साथमा १ सय राउन्ड गोली समेत फेला परेको थियो। सो हतियार अर्ध स्वचालित प्रकारको रहेको र नेपालमा त्यस्तो प्रकारको हतियार राख्ने अनुमति दिने कानुनी व्यवस्था नभएको खुलेको थियो।

अनुमति दिँदा नेपालभर बोक्न पाइने उल्लेख गरिएको थियो। तर हातहतियार खरखजाना ऐन अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउने गरी इजाजत पत्र पाउने र तोकिएको ठाउँभन्दा बाहेक अन्यत्र हतियार लैजानुपर्दा हरेक पटक प्रमुख जिल्ला अधिकारीसँग ‘यात्रा अनुमति’ लिनुपर्ने कानुनी व्यवस्था थियो।

जेठ १८, २०८१ शुक्रबार १६:४५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।