बल्ल फन्दामा परे सिबी : जग्गा देख्नै नहुने किनिहाल्ने, चुनाव प्रचारमा सहकारीको पैसाको 'खोलो बगाए'

बल्ल फन्दामा परे सिबी : जग्गा देख्नै नहुने किनिहाल्ने, चुनाव प्रचारमा सहकारीको पैसाको 'खोलो बगाए'

काठमाडौँ : साधारण बचतकर्ताहरूको आठ अर्ब बचत अपचलनको आरोपमा लुक्दै बसेका कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष चन्द्र बहादुर (सीबी) लामालाई प्रहरीले पक्राउ गरेको छ।

सहकारीको बचत रकम अपचलनमा फरार रहेका उनलाई शुक्रवार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। कार्यालयले उनी नेपाल-भारत सीमा नजिकबाट पक्राउ परेको दाबी गरेको छ।

उनीमाथि पशुपति सेभिङ एन्ड क्रेडिटसँगै कान्तिपुर सहकारी र पशुपति सहकारीको ८ अर्ब बढी रकम अपचलन गरेको आरोपमा प्रहरीले खोजी सुरु गरेपछि फरार भएका थिए।

कान्तिपुर सहकारीका वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी भने पक्राउ परिसकेका छन्। सिबीसँगै सहकारीका प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुलीमाथि बचतकर्ताको रकम हिनामिनाको आरोप छ।

बचतकर्ताको रकमले निजी अस्पताल र स्टोर

कान्तिपुर सहकारीले सहकारी विभागमा बुझाएको विवरणमा ६ अर्ब २२ करोड विभिन्न क्षेत्रमा लगानी भएको देखिन्छ। ऋण लगानी भएका अधिकांश व्यापारिक फर्म सिबी लगायतकाहरुकै हो।

उनीहरूले कान्तिपुर अस्पताल, पेन्टागन कलेज, रोयल थाई रेस्टुरेन्ट, द मसरुम हेड लाउन्ज एन्ड बार, नगरकोटमा स्तुपा र खोटाङमा जाम्बाला रिसोर्ट लगायतका कम्पनी खोलेर सहकारीका बचतकर्ताहरूको रकमको दुरुपयोग गरेका थिए।

जग्गा देख्यो कि भन्थे' हान्दिऊँ'

काभ्रे तिमालका सिबीलाई नजिकबाट चिन्नेहरूले उनीहरूले सहकारीको पैसा पानी जसरी खर्च गरेको दाबी गर्छ। कतै खाली जग्गा देख्यो कि किनिहाल्ने उनको स्वभाव थियो। सहकारीको नाममा खुलेका जग्गाको विवरणले पनि त्यही देखाउँछ।

सहकारीमा रहेका बचतकर्ताहरूको रकमबाट उनले काभ्रेका विभिन्न ठाउँसँगै पनौती, साँगा, फर्पिङ, चित्लाङ, मोरङको कानेपोखरी, खोटाङ हलेसी लगायतका स्थानमा ४ सय रोपनीभन्दा बढी जग्गा किनेको सहकारी विभागमा बुझाएको विवरणमै देखिन्छ।

विभागको विवरण अनुसार काठमाडौँ फर्पिङमा २२ रोपनी, बुढानीलकण्ठमा २ रोपनी बढी, थली–डाँछीमा १ रोपनी ११ आना, टेकुमा २२ आना, नयाँपाटीमा ११ आना २ पैसा, लाजिम्पाटमा २ आना २ पैसा, नयाँबानेश्वरमा ४ आना २ पैसा, बौद्धमा ५ आना २ पैसा, साँखुमा ३ आना र चपली भद्रकालीमा घरसहित १ रोपनी १२ आना २ पैसा जग्गा रहेको देखिन्छ।

काभ्रे भुम्लुमा ७ सय रोपनी, पनौतीमा १२६ रोपनी, काभ्रेकै मण्डन देउपुर मा ३ रोपनी ५ आना जग्गा रहेको देखिन्छ। भक्तपुरको साँगामा २८ रोपनी, गुन्डुमा ७ आना, धादिङको धुनीबेंसीमा २ रोपनी, तनहुँमा १६ रोपनी र खोटाङको हलेसीमा १८ रोपनी जग्गा रहेको देखिन्छ।

कांग्रेसबाट प्रदेश सांसदका उम्मेदवार

सिबी पक्राउपर्दा उनको हैसियत हो नेपाली कांग्रेस महासमिति सदस्य। उनी काभ्रेबाट नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय थिए। उनी २०७४ को निर्वाचनमा कांग्रेसले उनलाई काभ्रेको क्षेत्र नम्बर १ को (क) बाट प्रदेश सभाको उम्मेदवार बनाएको थियो।

बाम गठबन्धनसँग एक्लै चुनावी प्रतिस्पर्धामा रहेको कांग्रेसबाट उम्मेदवार बनेका उनी माओवादी केन्द्रका रत्न प्रसाद ढकालसँग पराजित भएका थिए। ढकालले २५ हजार १ सय ६ मत ल्याएर जित्दा सिबीले १७ हजार ८ सय ५५ मत ल्याएका थिए। निर्वाचनको समयमा सिबीले गरेको खर्चका कारण उनीपछिका उम्मेदवारहरूले 'मतदाताको बानी' बिगारेको गुनासो गर्ने गरेका थिए।

सहकारी ठगी सम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिमा उनको सहकारीको नाम समेत छ।

जेठ १८, २०८१ शुक्रबार १५:२३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।