सेयर बजारमा बजेटको नकारात्मक प्रभाव, दुई दिनमै ४३.७ अंक गिरावट

सेयर बजारमा बजेटको नकारात्मक प्रभाव, दुई दिनमै ४३.७ अंक गिरावट

काठमाडौं : नेपाल राष्ट्र बैंकले जेठ ४ गते चालू आर्थिक वर्षको तेस्रो समीक्षापछि सेयर बजार उकालो लागेको थियो। जेठ १३ गते भने बजार ओरोलो लाग्यो।

गत आइतबार नेप्से परिसूचक २२.१४ अंक अर्थात् १.०३ प्रतिशतले घटेर २१०.३४ विन्दुमा बन्द हुँदा ४ अर्ब ४४ करोड रुपैयाँको कारोबार भयो।

आइतबार दोहोरो अंकले घटेको बजार सोमबार भने ३.३९ अंकले बढेर २११३.२७ को विन्दुमा बन्द भयो। सो दिन ३ अर्ब ८९ करोड बढीको कारोबार देखियो।

मंगलबार, गणतन्त्र दिवस अनि आगामी आर्थिक वर्षको बजेट आउने दिन। सार्वजनिक बिदा भएकोले सो दिन नेप्सेमा कारोबार भएन।

बुधबारको बजारमा बजेटको सकारात्मक असर देखिएन। उक्त दिन २३.८१ अंक अर्थात् १.१२ प्रतिशतले बजार घटेर २०८९.४२ विन्दुमा झर्यो। कारोबार रकम भने अन्य दिनको तुलनामा बढेर ४ अर्ब ५७ करोड रुपैयाँ पुग्यो।

बिहीबार नेप्से परिसूचक १९.८१ अंकले घटेर २०८९.४२ को विन्दुमा पुगि बन्द भयो भने कारोबार ४ अर्ब २१ करोड रुपैयाँको भयो। बजेट विनियोजन पछिका दुई दिनमा मात्रै नेप्से परिसूचक ४३.७ अंकको गिरावट आयो।

गत १५ गते बजेट मार्फत सरकारले आगामी बजेटमा अर्थमन्त्री वर्षमान पुनले पूँजी बजार लगानीकर्ता र संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुधार तथा नेप्से र सिडिएस एन्ड क्लियरिङ्गसको संस्थागत पुनर्संरचना गरिने विषय उल्लेख गरेका थिए।

त्यस्तै, बजेटमार्फत मन्त्री पुनले निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीले आईपीओ निष्कासन गर्नुपर्ने व्यवस्था मिलाइने समेटेका थिए। तर पनि लगानीकर्तालाई यसले छुन सकेन र नेप्से सर्लक्कै ओरालो लाग्यो।

जेठ १८, २०८१ शुक्रबार १४:३१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।