सहकारीको बचत अपचलन गर्ने जोकोहीलाई कारबाही हुनुपर्छ : डा. संग्रौला

सहकारीको बचत अपचलन गर्ने जोकोहीलाई कारबाही हुनुपर्छ : डा. संग्रौला

नेपालगन्ज : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले उपप्रधान एव गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी संस्थाहरूको स्पष्ट छानविन हुनुपर्ने जोड दिएकी छन्।

कांग्रेसले सदन र सडकमार्फत दबाब सिर्जना गराएर छानविन समिति बनाएको उल्लेख गर्दै सर्वसाधारणको बचतकर्ताको रकम अपचलन गर्ने गृहमन्त्रीलगायत जोकोही कारबाहीका भागिदार बन्नुपर्ने बताइन्।

शुक्रबार बाँकेको नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता भेला एवं अन्तरक्रिया कार्यक्रममा उनले सहकारीको पैसा अपचलन गर्ने जोकोही कारवाहीको दायरामा आउनुपर्ने बताइन्।

‘गृहमन्त्रीले गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी)राईको कम्पनीबाट ऋण लगानी आएको दाबी गर्नुभएको छ। तर, सर्वसाधारण बचतकर्ताको उजुरीपछि प्रहरी, सीआईबी, सहकारी कार्यालय र स्थानीय तहले गरेको छानबिन प्रतिवेदनबाट संकलित तथ्यअनुसार चार सहकारीबाट मात्र गोर्खा मिडिया नेटवर्कमा सिधै कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको पुष्टि भएको छ। सहकारीको ८० करोड ३१ लाख रुपैयाँ सार्दा रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका सेयर धनी, सञ्चालक र प्रबन्ध निर्देशक रहेको स्पष्ट छ। त्यसको छानविन हुनुपर्छ,’ उनले भनिन्।

त्यस्तै पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट कम्तीमा १० करोड रुपैयाँ र साहारा चितवन सहकारीबाट कम्तीमा ११ करोड ७१ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा सारिएको विवरण सप्रमाण प्रकाशित भइसकेकाले यसको स्पष्ट छानविन हुनुपर्नेमा उनको जोड थियो।

त्यस्तै डा. संग्रौंलाले सरकारले भर्खरै ल्याएको ठूलो आकारको बजेटले आर्थिक बृद्धिदर ६ प्रतिशतले बढ्ने घोषणा गरेपनि लगानी आउने र उत्पादन बढ्नेमा आशावादी हुन नसकिने बताइन बजेट कर्मकाण्डी मात्र देखिन्छ । बजेटरी सुधार केही छैन । बजेट कनिका छर्ने प्रवृत्तिको छ।

‘आफ्ना कार्यकर्ता र समर्थकबाट आएका योजना प्राथमिकतामा छन् भने ठूला आयोजना सम्पन्न गर्नेगरी बजेट विनियोजन गरिएको छैन। यसबाट उत्साहित हुने अवस्था छैन’, उनले भनिन्।

उनले कांग्रेस अब जनताको घरदैलोमा पुगेर वास्तविक समस्या बुझ्ने र आवाज उठाउने अभियानमा जुटेको बताइन्।

समृद्ध एवं समुन्नत नेपाल र सम्मानित नेपाली पार्टीको ध्येय भएको उल्लेख गर्दै डा.संग्रौलाले प्रतिपक्षमा बसेर जनताका भावना र चाहना बोलिरहने प्रतिबद्धता जनाइन्। जनता र जनजीविकाका सवालमा कांग्रेसले काम गर्नुपर्ने उनको भनाइ छ।

सत्ता गठबन्धन विधि, कानुन र प्रक्रिया मिचेर निरंकुशतातर्फ उन्मुख रहेको उल्लेख गर्दै सर्वसत्तावाद स्वीकार्य नहुने चेतावनी दिइन्। उनले कांग्रेसले अब जनतालाई विकाससँग जोडेर र जनताका हरेक समस्याहरुको समाधान गरेर अघि बढ्नुपर्ने धारणा राखिन्।

नेपालगन्ज सुर्खेत हुँदै कर्णालीका जिल्ला भ्रमणमा रहेकी डा.संग्रौलासँगै पूर्वमन्त्री एनपी साउद, केन्द्रीय सदस्य अब्दुल सतार, केन्द्रीय सदस्य गोविन्द बहादुर शाह छन्।

जेठ १८, २०८१ शुक्रबार १४:०५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।