न्यूरोड फुटपाथ : कार्यपालिका बैठकमा मेयर बालेन र २२ नम्बर वडाध्यक्षबीच नोकझोक

न्यूरोड फुटपाथ : कार्यपालिका बैठकमा मेयर बालेन र २२ नम्बर वडाध्यक्षबीच नोकझोक

काठमाडौं : न्यूरोडको फुटपाथ बढाउने विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनबीच नोकझोक भएको छ। महर्जन एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

महागनरपालिकाको ३२औं कार्यपालिका बैठकमा बालेन र महर्जनबीच सडक वादविवाद भएको हो। विवादका क्रममा महर्जनले वडाका भइरहेको कामको विषयमा आफूले पत्रिका पढेर थाहा पाएको बताएका थिए।

तर उत्तरमा मेयर शाहले वडा नम्बर २४ मा फुटपाथ बढाउने काम भइरहेको भन्दै त्यसका लागि वडा नम्बर २२ को वडाध्यक्षलाई किन सोध्नुपर्ने भन्दै प्रश्न गरेका थिए।

‘फुटपाथ बढाउने डिजाइनको विषयमा सबै वडाध्यक्षहरूले डिजाइन हेर्नुभएकै हो, अहिले आएर कुरा फरक गर्न पाइँदैन नि,’ उनले भने, ‘दैनिक एक लाख भन्दा बढी मानिस हिँड्ने ठाउँमा फुटपाथको साइज कति चाहिन्छ थाहा छ तपाईंलाई?’

मेयरले यति भनेपछि वडाध्यक्ष महर्जनले आफूलाई थाहा नभएको भन्दै मेयरलाई नै बताइदिन भनेका थिए। त्यसपछि मेयर शाहले तीन मिटर हुनुपर्ने र सडक विभागले नै बनाउनुपर्नेमा मापदण्ड विपरीतको काम गरेको बताएका थिए।

सडक विभागले आपत्ति जनाएको भन्दै मेयर महर्जनले त्यसको प्रतिवाद गरेका थिए। तर, मेयर शाहले सडक विभागले आपत्ति नजनाएको उल्लेख गरे।

‘सडक विभागले आपत्ति जनाएको छैन, विभागले आपत्ति जनाएको भए १५ दिनभित्र रिप्लाइ दिनु भन्दा उसले दिएको छैन। सडक विभागले बनाएको फुटपाथ नै हैन त्यो, काठमाडौं महानगरपालिकाले बनाएको हो।’

‘सडक विभागले काम नगर्नु भनेर पत्र पठाएको होइन?’ भन्ने वडाध्यक्ष महर्जनको प्रश्नमा मेयर शाहले थपे, ‘सडक विभागको अधिकार क्षेत्रमै पर्दैन त्यो बाटो, त्यसरी बुझ्नुपर्यो। सडक विभागले बनाको हो र त्यो बाटो र फुटपाथ?’

‘अनि सडक विभागले किन पत्र काट्दैछ?’ भन्ने अर्को प्रश्नको जवाफमा मेयर शाहले भने, ‘किन काट्दैछ के था मलाई? पत्र पोलिटिकल आयो। सहमति भइसकेपछि पत्र काट्छ भने त्यो हाम्रो जिम्मेवारी हो त?’

सडक विभागले सहमति गरिसकेपछि पनि महानगरपालिकालाई पत्र काट्नु गैरकानूनी भएको भन्दै मेयर शाहले त्यसविरुद्ध कानूनी कारबाहीमा जाने बताए।

जेठ १८, २०८१ शुक्रबार १३:३८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।